बालेन भन्छन् : लोकतान्त्रिक पद्धतिमा स्वतन्त्र उम्मेदवारको प्रतिनिधि राख्नुपर्छ
फाइल तस्बिर
काठमाडौं : काठमाडौँ महानगरको मतगणना गर्दा स्वतन्त्र उम्मेदवारको एकजना मात्रै प्रतिनिधि राख्ने विषयमा स्वतन्त्र उम्मेदवार बालेन शाहले असन्तुष्टि जनाएका छन् । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको भन्दै बराबर प्रतिनिधि राख्नुपर्ने उनको माग छ।
स्वतन्त्र उम्मेदवार शाहले फेसबुकमा लेखेका छन्, ‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो। सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ। उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन। हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ। हरेकले पाउने प्रत्येक मतको मतभार बराबर छ।’
उनले दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिँदैछ? भनेर प्रश्न समेत गरेका छन्। स्वतन्त्रहरू आफैमा फरक फरक विचार, समूह र उम्मेदवार भएको उनको दाबी छ।
‘पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो? कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधी छान्ने हो? पाँच जनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रक्रिया र विधि के हो ? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यविधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन’ उनको भनाइ छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया