स्थानीय तह निर्वाचन २०७९

धुर्कोटमा वडाध्यक्षका उम्मेदवारमाथि आक्रमण

इकागज |
बैशाख ३१, २०७९ शनिबार ८:९ बजे

बुटवल - माओवादी कार्यकर्ताद्वारा गुल्मी धुर्कोट-४ जैशिथोकका वडा अध्यक्षका उम्मेदवार गोपाल थापामाथि आक्रमण गरिएको छ । गाउँपालिकाको केन्द्र बर्बोटमा मटपेटिका संकलन गरी गफ गरेर बसिरहेको अवस्थामा उनीहरूले आक्रमण गरेकाे कांग्रेस पालिकाका अध्यक्ष प्रत्यासी महेन्द्र भण्डारीले बताए ।

रक्सीको बोत्तल, हेल्मेट, ढुंगा र फलामका रडले आक्रमण गर्दा थापालाई टाउकोमा गम्भीर चोट लागेको छ । त्यस्तै, घाइते हुनेमा अन्य कार्यकर्ता रहेको कांग्रेसले बताएको छ । घटनामा सम्लग्नलाई कारबाहीको माग गरेपनि कोही परेका छैनन् ।


विवादकै कारण त्यहाँ मतगणना पनि सुरु हुन सकेको छैन । माओवादीका नेता एवम् पालिका अध्यक्षका प्रत्यासी भुपाल पोख्रेलको निर्देशनमा माओवादीका कार्यकर्ताले एक्कासि आएर आक्रमण गरेको दाबी गरेका छन् ।

घटनास्थलमा संगै भएका गणेश भण्डारीका अनुसार उनीहरूले मदिरा सेवन गरी आएर भुपाल पोख्रेलको आडमा मार्ने सम्मको धम्की दिदैँ टाउकोमा र शरिरमा गम्भीर चोट लागेको छ ।

आक्रमण गर्ने उग्र कार्यकर्ता भुपाल पोख्रेलनिकट कार्यकर्ता हुन् । दिउँसो मात्र गाउँपालिका अध्यक्षका प्रत्यासी महेन्द्रप्रसाद भण्डारीमाथि नयाँ गाउँमा माओवादी कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।

घाइतेहरूलाई जिल्ला अस्पतालबाट काठमाडौं रिफर गरिएको छ । मतगणना अन्यौलमा परेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिए । कांग्रेसले माओवादी नेता भुपाल पोख्रेलले घटनाको जिम्मा नलिएसम्म गणना गर्न नदिने निर्णय गरेको छ । घटना भएको पुष्टि गर्दै गुल्मी प्रहरीले घटनामा संलग्नहरूको खोजी भैरहेको बताएको छ ।


Author

थप समाचार
x