स्थानीय तह निर्वाचन २०७९

दार्चुलाको मतपेटिका हेलिकप्टर मार्फत  ल्याइँदै

इकागज |
बैशाख ३१, २०७९ शनिबार ९:५२ बजे

काठमाडौं–व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टर मार्फत ल्याउने भएको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु गएको छ  । 

दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ । मत पेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।


नेपालतर्फ बाटो नभएकाले हेलिकोप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । गत शनिबार छाङ्गरु र तिङ्करमा निर्वाचन सामग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्‍याइएको थियो । 
व्यास गाउँपालिका–१ का दुई  मतदान केन्द्रमा ३५० बढी मत खसेको छ । मोती महिला संघ आधारभूत विद्यालय तिङ्करमा १३६ र कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मत खसेको हो ।

तिङ्कर मतदान केन्द्रमा ७३  पुरुष र ६३ महिलाले मतदानमा सहभागी भएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । सो मतदान केन्द्रमा एक घण्टाअघि नै मतदान सकिएको थियो ।

तिङ्कर मतदान केन्द्रमा कूल १११ पुरुष र १२० महिला मतदाता थिए । कैलाशपति आधारभूत विद्यालय छाङ्गरुको मतदान केन्द्रमा ११२ महिला र १०७ पुरुषले मतदान गरेका जनाइएको छ । यो मतदान केन्द्रमा १७७ पुरुष र १९९ महिला मतदाता थिए । व्यास गाउँपालिकाका छ वटै वडामा पाँच हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ । रासस


Author

थप समाचार
x