स्थानीय तह निर्वाचन २०७९

जनकपुरधाम उपमहानगरको मतगणना स्थलमा सञ्चारकर्मीलाई प्रवेश निषेध

मतपरिणाम सहज ढंगबाट उपलब्ध गराउन कुनै व्यवस्था नहुँदा सञ्चारकर्मी अन्यौलमा

सुवास कर्ण |
बैशाख ३१, २०७९ शनिबार १२:४६ बजे

जनकपुरधाम- स्थानीय तह निर्वाचन अन्तर्गत मधेश प्रदेशका राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाको सम्पन्न निर्वाचनको मतगणना मत परिणामको सूचना संकलन गर्न मतगणना स्थलमा सञ्चारकर्मी प्रवेशमा रोक लगाएको छ । संचारकर्मीलाई मतगणना स्थल त के परिसर समेतमा प्रवेश निषेध गरिएपछि शनिवार बिहान ४ बजेदेखि नै मतगणना शुरु भएपनि उम्मेदवारहरूको के कति मत परिणाम आएको बारे संचारकर्मी सूचना संकलन गर्न पाएको छैन । 

मतगणना शुरु भएको बिहान ४ बजेदेखि नै संचारकर्मी मतगणना स्थल महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र अगाडि समाचार संकलनमा बसेका पत्रकारलाई सुरक्षामा खटेका सुरक्षाकर्मीहरुले माथिको आदेश रहेको भन्दै भित्र छिर्न दिएको छैन । 


जिल्लामा निर्वाचन शान्तिपुर्ण अवस्थामा सम्पन्न भएपनि कडा सुरक्षाको नाममा मतगणना स्थलमा निर्वाचन अधिकृतको कार्यालयद्वारा फितलो व्यवस्थाका मतगणना स्थलभित्र के भइरहेको छ भन्ने बारे कुनै कुरा बाहिरिएको छैन । 

मत परिणाम सहज रुपमा उपलब्ध गराउन निर्वाचन आयोगको कार्यालयले कुनै व्यवस्था गरेको छैन्। मत परिणामको सूचना कसरी पाउने बारे सरोकारवाला सबै निकाय कुनै चासो नलिई गैर जिम्मेवार बनेका छन ।  प्रमुख जिल्ला अधिकारी पौडेलले भने 'हामी फोटो र भिडियो खिच्न व्यवस्था ५-५ जना गरी व्यवस्था मिलाइ दियौँ, तर जहाँसम्म सूचना सहज रुपमा अपडेट गराउने कुरा हो त्यो मेरो अधिकार क्षेत्रको कुरा छैन, निर्वाचन अधिकृतसँग नै सोध्नुस' । 

उता नेपाल पत्रकार महासंघ प्रदेश शाखाका अध्यक्ष राजेशकुमार कर्णले संचारकर्मीलाई सूचनाको हकबाट वञ्चित गराउनु भनेको प्रेस स्वतन्त्रतामाथिको हनन रहेको भन्दै घटनाको घोर भत्सर्ना गरेका छन ।  उनले भने 'सुरक्षाको नाममा संचारकर्मीलाई सूचना नै उपलब्ध नगराउनु भनेको प्रेस स्वतन्त्रतामाथिको हनन हो । केही बेर हामी पर्खिन्छौ यदि मतगणनाको अपडेट सूचना उपलब्ध गराउन वातावरण नमिलाइए हाम आन्दोलनमा उत्रिन बाध्य हुनेछौं । '

यसैबीच प्रदेश पत्रकार महासंघ एक विज्ञप्ति जारी गरी पत्रकारलाई सहज रुपमा मत परिणामको सूचनाबाट वञ्चित गराउनु र सुरक्षाको नाममा हुन सक्ने धाँधली बाहिर आउन नदिन मिडियालाई प्रवेश निषेध गर्नु गलत रहेको भन्दै सहजता गरिदिन सम्बन्धित निकाय निर्वाचन आयोगसँग अपिल गरेको छ । 

साथै विज्ञप्ति मार्फत विगतमा मतगणनामा भएको धाँधली र प्रेसले सो सम्बन्धी समाचारहरु प्रकाशमा ल्याएपछि परिणाम परिवर्तन भएको तथ्यपनि स्मरण गराउँदै भित्र मतगणनामा हुन सक्ने धाँधली वा निष्पक्षताको निगरानी लागि तथा तथ्यगत वस्तुस्थिति सार्वजनिक गर्नका लागि पनि मतगणना स्थलबाट समाचार संकलन गर्न सक्ने व्यवस्था मिलाउन आयोगसँग अपिल गरेको छ । 

यता मतगणना स्थल बाहिर उभेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले मत परिणाम अपडेट नगर्नु र संचारकर्मीलाई समेत सूचनाबाट वञ्चित गर्नु भनेको भित्र हुने धाँधलीलाई ढाकछोप गर्नु आयोगको नियत रहेको प्रतिक्रिया दिएका छन । उनीहरुले सत्तारुढ गठबन्धनका प्रमुख दल कांग्रेसका बागी उम्मेदवार मनोज साहलाई जिताउन केन्द्रबाट नै यस्तो धाँधली गर्न खोजेको आरोप लगाएका छन । 

मतपरिणामको सूचनामाथि संचारकर्मीलाई प्रतिबन्ध लगाएपनि भित्र श्रोतबाट आएको जानकारी अनुसार हाल जनकपुरधाम वडा नम्बर १ को मतगणना जारी रहेको छ । सो जारी मतगणना अनुसार यो समाचार लेख्दासम्म ७ सय मतगणनामा कांग्रेसका बागी उम्मेदवार घण्टाघर छापका मनोज साह सबभन्दा अगाडि २ सय ३२ ल्याएर अगाडि छन ।  अन्य उम्मेदवारहरू एमालेका शिवशंकर साह हिरा ९५, आँप छापका स्वतन्त्र उम्मेदवार बलराम महतो ५३, लोसपा साइकल छापका मनोज चौधरी ४१, जसपा छाता छापका लालकिशोर साह ३४, लालटिन छापका स्वतन्त्र उम्मेदवार जानकीराम साह २७ मत ल्याएका छन ।


Author

थप समाचार
x