स्थानीय तह निर्वाचन २०७९

मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी

इकागज |
जेठ १, २०७९ आइतबार ६:५६ बजे

काठमाडौँ- मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनले ९८८ मत प्राप्त गरी विजयी भएका हन् । 

उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गरेका थिए। । वडा सदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी भएका छन् । यसैगरी वडा सदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका छन् । 


गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखको उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७९९ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ भने प्रतिद्वन्द्वी एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार ११३ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मतका साथ अग्रता कायम राखेका छन् भने गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको मतगणनास्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले जानकारी दिए । 

त्यसैगरी भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी भएका छन् । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी भएका छन् । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गरेका हुन् । हाल मत गणना जारी  छ ।


Author

थप समाचार
x