स्थानीय तह निर्वाचन २०७९

दैलेखको तीन पालिकाको नतिजा सार्वजनिक, दुईमा एमाले र एउटामा माओवादी विजयी

लक्ष्मी भण्डारी |
जेठ २, २०७९ सोमबार ८:४० बजे

सुर्खेत - दैलेखका तीन पालिकामा मतगणना सम्पन्न भएको छ । दुई वटा पालिकाको नतिजा आज बिहान र एउटा पालिकाको नतिजा आइतवार बिहान सार्वजनिक भएको हो ।

जसमा दुईवटा पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् भने एउटा पालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् ।


दैलेखको डुंगेश्वर गाउँपालिकामा बहुमत वडासहित एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी तीन हजार चार सय ६ मत ल्याएर विजयी भए ।

उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नगेन्द्र बहादुर मल्ल तीन हजार तीन सय ३६ मत ल्याएका थिए । मल्ल उक्त पालिकाका निवर्तमान अध्यक्ष हुन् । उपाध्यक्षमा एमालेकै कलावती न्यौपाने विजयी भइन् ।

उनले तीन हजार पाँच सय ७७ मत ल्याउँदा नेपाली कांग्रेसकी एलिजाकुमारी थापाले तीन हजार एक सय ५२ मत प्राप्त गरिन् । एमालेले वडा नं. ३, ४, ५, र ६ को अध्यक्ष जितेको छ ।

त्यसैगरी दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेबाट टोप बहादुर बिसी विजयी भएका छन् । उनले चार हजार एक सय २० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज वलीले तीन हजार तीन सय ७५ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादीका कृष्ण पाण्डेले ७६ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार शिवा कुमारी खड्काले चार हजार एक सय २५ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपा बिसीले तीन हजार पाँच सय ४७ मत प्राप्त गर्दा माओवादीका कुसुम शाहीले ९३ मत प्राप्त गरिन् ।

यस्तै आइतबार बिहान सार्वजनिक भएको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएका छन् ।


Author

थप समाचार
x