स्थानीय तह निर्वाचन २०७९

दुई ठाउँमा टेकियो ‘लौरो’, काठमाडौँमा के होला ?

कमल विष्ट |
जेठ २, २०७९ सोमबार १२:८ बजे

काठमाडौँ- अहिले देशभर गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामको चर्चा छ । आफ्नो क्षेत्रमा कसले जित्ला भन्ने कौतुहलतामा मतदाताहरू छन् । 

देशभर मतगणना भइरहँदा सबैको ध्यान काठमाडौँ महानगरपालिकाले तानेको छ । यसको मुख्य कारण हो- स्थापित दललाई विस्थापित गर्न अग्रसर मेयरका लौरोधारी उम्मेदवार बालेन्द्र शाह (बालेन) । 


पेसाले इन्जिनियर र र्‍यापर बालेन काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएसँगै एकाएक चर्चामा आए । चुनावका लागि ‘लौरो’ चुनाव चिह्न पाए । र, त्यही लौरोले अहिले जादू देखाइरहेको छ । 

उनले स्थापित दलका उम्मेदवारहरूलाई मात ख्याइरहेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछाडि पारेका छन् । केही बेरअघि सार्वजनिक मत परिणामअनुसार बालेन ६ हजार ८ सय ८६ मतसहित अग्र स्थानमा छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्थापितले ३ हजार ९ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६ सय ५७ मत प्राप्त गरेकी छन् । 

बालेनलाई भोट दिने मतदाता तथा समर्थकहरू उनले जित्नेमा ढुक्क छन् । तर काठमाडौँ महानगरको अन्तिम नतिजा आउन अझै केही दिन लाग्‍छ ।

देशको राजधानी काठमाडौँ मात्र होइन, दुर्गम क्षेत्र मानिने रोल्पामा पनि लौरोको चर्चा छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नधारी नेत्रबहादुर गिरी विजयी भएका छन् । गिरीले कांग्रेस–एमाले गठबन्धन र एमालेका उम्मेदवारलाई हराएका थिए । उनले ४ सय ३९ मत पाउँदा कांग्रेसका उम्मेदवारले ३ सय ९९ मत पाएका थिए भने माओवादी केन्द्रका उम्मेदवारले ३ सय ४७ मत पाएका थिए । 

गिरीले २०७४ को स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा विजय हासिल गरेका थिए । 

लौरो चुनाव चिह्न पाएर जित हासिल गर्ने अर्का स्वतन्त्र उम्मेदवार हुन्, काठमाडौँको जयराम महत । महत काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडाअध्यक्षमा निर्वाचित भएका छन् । 

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा लौरो चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् । उनी एक हजार २७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटमत प्रतिद्वन्द्वी एमालेका श्रीकुमार श्रेष्ठले ९ सय २९ मत ल्याए भने कांग्रेसका ज्ञानकुमार श्रेष्ठले ७ सय ९४ मत ल्याएका थिए । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x