स्थानीय तह निर्वाचन २०७९

धादिङको सिद्धलेकमा ३० वर्षपछि ढल्यो एमालेको गढ

इकागज |
जेठ २, २०७९ सोमवार १२:१ बजे

काठमाडौँ - धादिङको सिद्धलेक गाउँपालिकाको १ र २ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ३० वर्षदेखि नेकपा एमालेको गढ मानिने उक्त क्षेत्रमा गठबन्धनका उम्मेदवारले बाजी मारेका हुन् ।

वडा नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पेमा वाङग्याल लामा विजयी भएका छन् । उनले १२८१ मत ल्याएर विजय हासिल गरेका हुन् ।


उनका निकटतम प्रतिद्वन्दी एमालेका इश्वर प्रसाद सिलवाल ७७३ मत प्राप्त गरे । यस्तै वडा सदस्यमा पनि गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् ।

वडा सदस्यहरूमा समर्पण राना, भगवान भट्ट, भगवती तिवारी र राममाया परियारले विजय हासिल गरेका हुन् । वडा नम्बर १ एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भएका प्रेम नाथ सिलवालको वडा हो ।

यसअघि उनले २०७४ मा गाउँपालिकाको अध्यक्ष जितेका थिए । यस्तै वडा नम्बर २ मा पनि गठबन्धन दलका तर्फकाट कांग्रेसका उम्मदेवार शम्भु गुरुङ (सागर) ले १ हजार ८३९ मत ल्याएर विजय हासिल गरेका छन् ।

उनले एमालेका कमल बहादुर गुरुङलाई पराजित गरे । गुरुङले ८५७ मत प्राप्त गरे । वडा सदस्यहरुमा झंक बहादुर सिलवाल, बद्रि प्रसाद अर्याल, शर्मिला बस्नेत बराम र खिन माया श्रीमल विजयी भएका छन् ।

सिद्धलेक वडा नम्बर १ र २ साविकको नलाङ गाविस हाे । २०५४ काे स्थानीय चुनावमा पनि एमालेकाे हालका अध्यक्षका उम्मेदवार सिलवाल गाविस अध्यक्ष भएका थिए।


Author

थप समाचार
x