स्थानीय तह निर्वाचन २०७९

बन्द कोठामा राखिएका सबै मतपेटिका गणना हुन्छ : प्रमुख आयुक्त थपलिया

इकागज |
जेठ २, २०७९ सोमबार १२:२३ बजे

फाइल तस्‍बिर

विराटनगर - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान भएर मतगणना गर्ने स्थानमा आइसकेका र बन्द कोठामा राखिसकेका सबै मतपेटिका गणना हुने बताएका छन् । सोमबार मोरङको रंगेली नगरपालिकाको स्थगित मतगणनास्थलमा जान विराटनगर आइपुगेका मुख्य निर्वाचन आयुक्त थपलियाले मतगणनालाई तिब्रता दिन समेत आग्रह गरेका छन् ।

राज्यको स्रोतसाधन पटकै पिच्छे खर्च गरेर निर्वाचन गरिराख्न नसकिने भन्दै मतगणनास्थल ल्याइएका सबै मतपेटिका गणना गर्ने बताए । थपलियाले विराटनगरसहित देशैभरी बैशाख ५ गतेभित्र मतगणना सम्पन्न गरिसक्न समेत निर्देशन दिए ।


‘मतपेटिकामा सबै आइसकेका छन्, गनेर रिजल्ट दिने कुरा हो, जे आवश्यक पर्छ लाग्ने स्रोतसाधन आयोगले परिचालन गर्छ’ थपलियाले भने, ‘देशभरीकै सन्दर्भमा आयोगको एउटै निर्णय छ, मतगणना गर्ने ठाउँमा आइसकेको र बन्द कोठामा बसिसकेको मतपेटिका गणना हुन्छ, नतिजा निस्किन्छ ।’

उनले केही जिल्लामा देखिएको विवादका विषयमा आयोगले गम्भीरताका साथ अध्ययन समेत गर्ने बताए । तर सानातिना बहानामा जनताले मतपेटिकामा व्यक्त गरिसकेको अभिमतलाई गणना गर्न ढिलाई गरेर रोक्न नसकिने स्पष्ट पारे ।

उनले मतगणनाको सम्पूर्ण व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई कर्मचारी र सुरक्षालगायतका काम व्यवस्थापन गर्न निर्देशन दिए । त्यसका लागि मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्साललाई समन्वय गरिदिन आग्रह गरे । 

विराटनगरमा मतगणना ढिलो भइरहेको बिषयमा उनले गणनास्थलमा रहेका सवै कोठाहरू प्रयोग गरेर गणनालाई तिब्रता दिन आग्रह गरे । 
बैशाख ३० गते मतदान भएका सबै स्थानीय तहको मतगणना जेठ ५ गतेभित्र नतिजा आइसक्नुपर्ने बताए । 


Author

थप समाचार
x