रोजगारी

नेपाली नर्स पठाउन बेलायतसँग गरिएको सम्झौतामा के छ?

अतिन आचार्य |
भदौ ६, २०७९ सोमवार १४:१४ बजे

काठमाडौँ - बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरूलाई विधिसम्मत् तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्नताको वातावरण तयार हुने र जनशक्तिको विकाससमेत मद्दत पुग्ने मन्त्रालयले जनाएको छ । बेलायतमा स्वास्थ्य सेवामा कार्यरत रहदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ । 


नेपाली स्वास्थ्यकर्मी छनौट, पदस्थापन, सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलमा रहेको र यससम्बन्धी सबै व्यवस्था जिटुजी प्रक्रिया बमोजिम हुने सचिव अर्यालले बताए । परिक्षणको पहिलो चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेन्सनको प्रोटोकल स्पष्ट व्यवस्था गरिने र नियुक्ति प्रक्रियाका कुनै शु:ल्क नलाग्ने एवं रोजगारीका लागि छनौट भएकाहरुको लागतको शोधभर्ना समेत हुने सचिव अर्यालले बताए ।

त्यस्तै नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपाली स्वास्थ्यकर्मीहरूलाई बेलायतमा रोजगारी दिन पाउनु खुसीको कुरा भएको भन्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको निरन्तर सुद्धिकरण र आधुनिकीकरणमा सहयोग जारी रहने बताए । 

बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ । तर, पहिलो चरणमा परीक्षणका रूपमा केही संख्यामा  मात्रै नर्सहरू पठाइने मन्त्रालयले जनाएको छ ।

सम्झौतामा के- के भए?-

 -स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने ।

 -नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एन. एच. एस.) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने ।

 -विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने ।

 -नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढिकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने ।

-परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने ।

-नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने ।

 -परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ती प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ती तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने ।

 -समझदारी पत्र, नियुक्ती प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेवसाइट http://moless.gov.np/np/page/uk-health-careमा उपलव्ध हुने तथा थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x