रोजगारी

वैदेशिक रोजगारमा कोरोना ग्रहण

नेपाल छोड्ने नेपालीभन्दा भारतीयको संख्या बढ्दै

अतिन आचार्य |
बैशाख २१, २०७८ मगलवार १३:३५ बजे

श्रम स्वीकृति लिन लाम लाग्दै । तस्बिर : अतिन आचार्य

काठमाडौँ :  कोभिड-१९ को कहरले वैदेशिक रोजगारीका क्षेत्र प्राय: ठप्प जस्तै छ । महामारी नभइदिएको भए त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक जसो तीन हजार पाँच सय भन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हरियो पासपोर्टको सहारामा पश्‍चिम एसिया (खाडी) तथा अन्य युरोपेली मुलुक गइरहेका हुन्थे । हुन त अहिले पनि दैनिक दुई हजारको हाराहारीमा  विदेश गइरहेका छन् । 

महामारीकैबीचको आठ महिनामा चालु ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ  (आर्थिक वर्षमा) बराबर विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले ८.६ प्रतिशतका दरले वृद्धि भएको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्सले १.५ प्रतिशतले बढेको थियो। चार वर्षमै दश लाख नेपालीले श्रम स्वीकृति लिइ स्वदेश छोडेका छन् ।


पछिल्लो समय मुलुकमा संक्रमणको दर घट्दै गएको थियो । वैदेशिक रोजगारीको  क्षेत्रमा लागेका व्यवसायीहरू लयमा फर्कने आशामा थिए । दोस्रो लहरको कोभिड सुरु भएपछि पुनः मुलुककै ठूलो धनराशी भित्र्याउने रेमिट्यान्स उद्योग थला परिसकेको छ ।

पहिलो चरणको कोभिड मत्थर भएपछि खाडी मुलुकका विभिन्‍न मुलुकले नेपाली कामदार माग गर्न थालेका थिए । युएई, साउदी अरब र कुवेत जस्ता मुलुकले आशिंक रूपमा कामदार माग गरेका बेला माग अनुसार पनि कामदार पठाउन नसकेको र दोस्रो लहरको कोभिडले व्यवसायीहरू पलायन हुने सम्भावना बढ्दै गएको वैदेशिक रोजगारका क्षेत्रमा लागेका व्यवसायीले बताउँन थालेका छन् ।

'धरौटी रकम फिर्ता दिएनन्'

विदेशबाट रोजगारका लागि माग भएर आएका नेपाली कामदारलाई सरकारले निर्धारण गरेको जनस्वास्थ्यका मापदण्ड पालना गराएर थोरै संख्यामा भए पनि वैदेशिक रोजगारका लागि श्रमीक पठाइरहेको वैदेशिक रोजगार महासंघका अध्यक्ष विष्णु गैह्रे बताउँछन् । 'पहिलो चरणको कोभिड-१९ संक्रमितको संख्या घट्दै गएपछि रोजगारीमा पठाउनलाई सहज भइरहेको थियो,' उनले भने ।

दोस्रो लहरको नयाँ भेरियन्ट कोभिड फैलिएपछि व्यवसायमा उठ्न नसक्ने गरी थलिएको गैह्रेले बताए । ' कोभिडले वैदेशिक रोजगारको क्षेत्रमा ग्रहण ल्यायो,' उनी भन्छन्,' सरकारले कोभिड सुरु भएपछि धरौटी रकम माग गर्दासमेत फिर्ता दिएन । '

गैह्रेका अनुसार चार अर्ब २० करोड धरौटी रकम राखिएको छ । बारम्बार सरकारले धरौटी रकम फिर्ता गर्ने आश्वासन मात्र दिएको उनको भनाइ छ । पहिलो र दोस्रो कोभिड सुरु भएपछि नेपाली कामदार एक लाख ५० हजार भन्दा बढी पठाइसकेको उनले जानकारी दिए । व्यवसायलाई चलायमान गराउन गाह्रो भइसकेको गैह्रै बताउँछन् । सरकारले अप्ठयारो पर्दा व्यवसायीलाई सहयोग गर्नुपर्ने उनको माग छ ।

निषेधाज्ञामा पनि दैनिक जसो करिब ३ सयका हाराहारीले रोजगारका लागि मुलुक छोड्ने गरेका छन् । विदामा घर आएका र केही मुलुकबाट नयाँ माग अनुसार आएका ड्राइभिङ, लेभर र क्लिनर कामका लागि बाहिर गइररहेका छन् । 'हामीसँग बाँकी कामदार पठाउन कोही पनि छैनन्,' गैह्रेले भने ।

कोभिडका कारण वैदेशिक रोजगारमा परेका श्रमीकलाई उद्धार गर्ने तयारी गरिरहेको गैह्रेले बताए । कति कामदार अलपत्र परेका छन सम्बन्धित मुलुकको कूटनीतिक नियोगसँग सम्पर्क गरी तथ्यांक लिने काम भइरहेको उनले सुनाए । ' मन्त्रालय र सरोकारवाला निकायसँग छलफल चलिरहेको छ, ' उनले भने ।

'वैदेशिक रोजगारलाई पहिलो प्राथमिकता'

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका प्रवक्ता दीपक वाग्लेका अनुसार वैदेशिक रोजगारका क्षेत्रमा परेको असरमा मन्त्रालय गम्भीर रहेको छ । कोभिडका कारण सबै क्षेत्रमा असर परिरहेकाले यस विषयमा व्यवसायीलाई के कस्तो सहयोग गर्ने वा चलायमान बनाउन सकिन्छ भन्‍ने विषयमा केन्द्रित भएर वार्ता चलिरहेको उनले बताए ।

'वैदेशिक रोजगारलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको छौँ,' वाग्लेले भने ,' कोभिडले सबै क्षेत्रलाई असर गरेकाले यसका लागि यसै गर्ने भनेर के गर्ने भन्‍ने निर्णय भइसकेको छैन ।' मन्त्रालयले नीतिगत निर्णय लिनुपर्ने कुरामा वैदेशिक रोजगारमा गएकालाई सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।

निषेधाज्ञामै दुई हजारले नेपाल छोड्दै

निषेधाज्ञामा पनि विदेश जानेको कमी नआएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख शुशील वैद्य बताउँछन् । उनका अनुसार अहिले पनि दैनिक दुई हजारका हाराहारीमा हवाई मार्गबाट विदेश जाने गरेका छन् ।

विदेशबाट नेपाली नागरिक खाडीलगायतका र अन्य मुलुकबाट नेपालीहरू प्रवेश गरिरहेको वैद्यले जानकारी दिए । एक हजार पाँच सयको हाराहारीमा स्वदेश भित्रिने गरेको पनि उनले बताए ।

बैशाख १५ भन्दा अघि आएका भारतीय नागरिकहरू साउदी गइरहेको उनले जानकारी दिए । सातदेखि आठ सयका हाराहारीमा उनी साउदीतर्फ गइरहेका छन् । पछिल्लो समय भारतमा कोरोनाको जोखिम बढेपछि उनीहरूले नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक गइरहेका हुन् । 

खाडीलगायतका मुलुकमा भने नेपालीहरू 'भिजिट भिसा' को प्रयोग गरी जाने गरेको उनले जानकारी दिए । कागजातको प्रक्रिया पुर्‍याएर आएकालाई प्रवेश अनुमति दिएको र नपुगेकालाई फर्काउने गरेको उनले सुनाए ।

चार वर्षमा लिए आठ लाख बढीले श्रम स्वीकृति

श्रम कार्यालय ताहाचलका प्रवक्ता छत्रमान सिंहका अनुसार दैनिक १ सयका हाराहारीमा श्रम स्वीकृति लिन आइरहेका छन् । भोलिपल्ट टिकट छ भन्‍दै श्रम स्वीकृति लिन आउनेको संख्या बढिरहेको उनले जानकारी दिए ।

श्रम कार्यालयले पछिल्लो समय अनलाइनबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । अनलाइनबाट तीन सय ५० ले स्वीकृति लिन आवेदन दिने गरेका छन् । 

एक सातामा चार हजार भन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । विदामा घर आएर फर्कन चाहने र व्यक्तिगत भिषामा जानेहरू बढी रहेको सिंहले बताए ।पछिल्लो चार वर्षमा आठ लाख १० हजार चार सय ८६ ले विदेश जान नेपाली कामदारले श्रम स्वीकृति लिइसकेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x