रोजगारी

काेराेना महामारीकाे असर

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी

'व्यवसाय सञ्‍चालन गर्न नपाए सरकारलाई चाबी बुझाउँछौ'

इकागज |
माघ १४, २०७८ शुक्रबार १९:७ बजे

काठमाडौँ- रात्रीकालीन व्यवसायीहरूले व्यवसाय सञ्‍चालन गर्न पाउनुपर्ने माग गरेका छन् । व्यवसाय गर्न नपाए लाखौं मजदुर तथा व्यवसायीलाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।

शुक्रबार (आज) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा व्यवासायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालीन व्यवसाय सञ्‍चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।  


ठमेलको एलओडी क्लबका निर्देशक भुपेन्द्र शमसेर कुँवरले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय गर्न पाउनुपर्ने माग राखे । उनले भने,'महामारीबाट सबैभन्दा पीडित रात्रीकालीन व्यवसायीहरू छन् । कर्मचारीहरूलाई तलब दिनुपर्छ । भवनको भाडा र बैंकको ऋण तिर्न समस्या भइरहेको छ ।' सरकारले रातको समयमा व्यवसाय गर्दा कोभिड सर्ने जस्तो गरेर विभेद गरेको उनले आरोप लगाए । 

निरन्तर व्यवसाय गर्नुपर्ने अवस्था आएमा सदाको लागि बन्द गर्नुपर्ने अवस्था आउन सक्ने कुँवरको भनाइ छ । लामो समयको बन्दाबन्दीमा परेको व्यवसाय बिस्तारै उठ्दै गरेको क्षेत्रलाई पुनः बन्द गरेर थलिने अवस्थामा पुर्‍याएको उनले तर्क पेश गरे । अब बन्द गरिरहनु पर्ने हो भने सरकारलाई तालाचाबी बुझाउछौ। 'महामारीकै कारण धेरै व्यवसायीहरू पलायन भइसकेका छन् । राज्यलाई कर तिर्छौ तर हामीलाई व्यवसाय गर्ने वातावरण बनाइदिनुपरो,' उनको माग छ,' ग्राहकहरूलाई खोप कार्ड भएमा मात्र प्रवेश दिन्छौ ।'

दरबारमार्ग व्यवसायी संघ (किङ्स लाउन्ज) का संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्‍चालनगर्न नदिए आफूहरू लाखौंको संख्या सडकमा उत्रने चेतावनी दिए । उनले भने,‘वार्षिक ५ अर्बसम्म कर बुझाउने हाम्रो व्यवसाय बन्द हुँदा आत्महत्याको अवस्थामा पुगिसक्यौं । हाम्रा लागि सडकमा उत्रनुको विकल्प छैन ।’

गुरुङले गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायमा पुगेर आफूहरूको पीडा सुनाए पनि सुनुवाई नभएको गुनासो गरे । उनले रात्रिकालीन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्ने र सबैभन्दा पछि खोलिने गरिएको भन्दै असन्तुष्टि पोखे । यस क्षेत्रमा काम गर्ने हजारौं बेरोजगार भई देशमा अर्को संकट आउने खतरा औल्याए । उनले भने,‘सार्वजनिक स्थानमा हजारौको संख्यामा भेला हुँदा कोरोना नसर्ने तर राती ८ बजेपछि मात्र कोरोना सर्ने ?’ उनले प्रश्न गरे ।

अमेरिका जस्ता ठूलो देशमा पहिलो यही पेशा बन्द गरिए पनि पछिल्लो समयमा भने खुलाएको बताए । नेपालमा कुनै आधार नभई बन्द गरिएकोमा आफूहरूको आपत्ति रहेको सुनाए । उनले भने,‘यो पेशाको आधारमा मात्रै कतिलाई कोरोना सर्यो र यो व्यवसाय बन्द गर्दा कति कोराना घट्यो ? त्यसको कुनै डाटा छैन् बिना आधार हाम्रो व्यवसाय बन्द गरिदैछ । देशमा राज्य नभएको महसुस भइरहेको छ ।'

कानुनी राज्य भएको देशमा सबै पेशा व्यवसायको सुरक्षित र व्यवस्थित हुनुपर्नेमा उनको जोड थियो । राज्यलाई आफूहरूको समस्याको समाधान गर्न उनले आग्रह गरे । सरकारले सञ्‍चालनगर्ने अनुमति दिएमा आफूहरूले आदेशको उल्लघंन नगरी रात्रिकालीन व्यवसायहरू संचालन गर्ने पनि बताए । धेरै जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेको बताए ।

त्यसैगरी रात्रिकालीन मनोरन्जन व्यवसाय संघका अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्‍चालनगर्न नदिए सडकमा उत्रन वाध्य हुने चेतावनी दिए । उनले भने, ‘एक लाख व्यवसायीहरू र ३ लाख मजदुर एकसाथ सडकमा उत्रनेछौ, समयमै सरकारको चेत खुलोस् ।’

आफ्ना समस्याहरू सुनाउन धेरै मन्त्रालयलमा पुगिसकेको बताए । तर, आश्वासन आउने कार्यान्वयन नहुने गरेको बताए । जिम्मेवार निकायमा पुग्दा आफूहरूले व्यवसाय तत्काल सञ्‍चालनगर्न पाउनेमा ढुक्क नभएको खड्काले बताए ।  उनले भने,‘उहाँहरूले जति सक्दो चाँडो खुलाउने आश्वासन दिनुभएको छ तर कार्यान्वयन हुनेमा ढुक्क छैनौं ।’

उनले अन्य पेशा व्यवसायलाई जस्तै रात्रिकालीन व्यवसाय पनि स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चानल गर्न पाउनुपर्ने माग राखे । उनले थपे,‘हामीपनि अन्य व्यवसायी जस्तै हौ । आफूहरूले कानून अनुसार व्यवसाय गर्ने अधिकार पाउनुपर्छ ।'


Author

थप समाचार
x