रोजगारी

लाइन नबसी खान पाइँदैन टिकटकमा भाइरल ‘चिकन चटपट’

‘मिठो नभए पैसा फिर्ता’ को अफर

धनबहादुर गुरुङ |
फागुन ७, २०७८ शनिबार १५:३६ बजे

पोखरा– पोखरा ५ जिरो किलोमिटरको एक पसलमा हिजोआज युवायुवतीको लामै लाईन देखिन्छ । बाटो हिँड्ने बटुवा अनि सवारीका यात्रुहरूको नजर त्यही ठोकिन्छ। किन लाईन लागेको होला भन्ने सबैको उत्सुकताको विषय नै बनेको छ, त्यो भीड । 

शुक्रबार पोखरा मियाँपाटनकी पूर्णिमा गुरुङ लेकसाईड जाँदै गर्दा बाटोको त्यो भीड देखेर एकछिन रोकिइन् । बुझ्दै जाँदा उनले थाहा पाईन, त्यो त चिकन चटपट खानेको लाईन रहेछ । चटपटको शौखिन गुरुङ पनि नयाँ स्वाद चाख्न त्यही लाईनमा बसिन् । पालो कुरेर बसेकी गुरुङले लगभग २५ मिनेटपछि बल्ला पालो पाईन् । चपपट खाएपछि उनको प्रतिक्रिया थियो, ‘आहा क्या मिठो ।’ 


त्यो पसलमा जाने सबैले चटपटको तारिफ गर्छन् भने अधिकांशले भिडियो बनाउन सुरु गरिहाल्छन् । पोखरामा चिकट चटपटको कन्सेप्ट ल्याउने व्यक्ति हुन्, गोरखाका नेपाली सेनाका पेन्सनर ईश्वरबहादुर खत्री । खत्री २०७८ सालको वैशाखमा नेपाली सेनाको जागिरबाट निवृत्त भए । उमेर ३७ वर्ष टेकेका खत्री सेवा निवृत्त भएलगत्तै दुबई पुलिसका लागि तयारी गरे । उनले मेनपावर धाउन सुरु गरिसकेका थिए । प्रक्रियाअघि बढिरहेकै अवस्थामा कोरोनाको दोस्रो भेरियन्टका कारण भएको लकडाउनले जहाज उडेन । उनको दुबई जाने योजनामा नै बिराम लाग्यो । नेपाली सेनामा जागिरे भई तालिम प्राप्त गरेको आफ्नो अनुभवका आधारमा दुबई पुलिसमा जागिर खाने सपनामा ठेस लाग्यो। 

उनकी श्रीमती जानुका खत्री २०७६ देखि छोराछोरी पढाउनका लागि पोखरामै बसेकी थिइन्। ईश्वर पनि लकडाउनभर परिवारसँगै पोखरा बसे । विदेश जान कोरोनाले रोकेपछि श्रीमतीकै सल्लाहमा पोखरा ५ जिरो किमीमा किराना पसल खोले। त्यसबाट सोचेजस्तो व्यापार भएन । व्यापारबाट राम्रो कमाइ नभएपछि चटपटसँगै पानी पुरी व्यापार गर्ने अर्काे सोच पलायो । ‘त्यो बेला लकडाउनले प्लेन उड्न छोड्यो, विदेश जान पाइएन अनि किराना पसल खोलेको हो,’ उनले भने, ‘पसलबाट मात्र हुन्न भन्ने लाग्यो, अब पानी पुरी र चटपट पनि राख्छु भन्ने सोंच आयो। काम गरेर खान के को लाज भनेर २ महिना अघि चटपट व्यापार सुरु गरें ।’ दसैं तिहार मनाएरपछि पुस पहिलो हप्तादेखि उनले चटपट व्यापार थालेका हुन्। 

नेपाली सेनामा १८ वर्ष बिताएका उनले पानीपुरी र चटपटको व्यापार गरौंला भनेर कहिल्यै नसोचेकाले सुरु सुरुमा भने केही गाह्रो भएको थियो । तर उनले सबै अर्गानिक चिज प्रयोग गरी चटपट र पानीपुरी तयार पार्ने भएका कारण ग्राहकले मन पराउनेमा उनी ढुक्क थिए। ‘केमिकल केही प्रयोग गर्दिनँ, यहाँ प्रयोग गरिने सामग्री सबै फ्रेस नै हुन्छ,’ उनले भने, ‘चटपटका लागि आवश्यक अमिलो र पिरोका लागि कागती र अकबरे खुर्सानी हाल्छु ।’ पानीपुरीमा भन्दा उनले चटपटमा बढी ध्यान दिए। रिटायर्ड खत्रीको हातबाट बनेको चटपटको स्वाद मिठो बन्दै गयो । विस्तारै युवायुवतीहरु त्यहाँ पुग्न थाले। 

एकमहिनाअघि विन्धवासिनीकी रचना दाहालले सामाजिक सञ्जाल टिकटकमा उनको चटपट पसलको भिडियो अपलोड गरिन् । भिडियो रातारात भाइरल बन्यो । अर्को दिनदेखि चटपट खानेको भीड लाग्न थाल्यो । भिडियो हेरेर चटपट चाख्न जानेहरुले स्वाद मन पराउन थाले। ‘विन्ध्यवासिनीकी ती बहिनीले भिडियो हालेपछि मान्छे आउन थाले,’ खत्रीले भने, ‘यहाँ आउनेहरुले पनि साह्रै मिठो भन्दै भिडियो बनाउँदै टिकटकमा हाल्न थाले, त्यसपछि त चटपट र पानी पुरीका लागि लाइन नै बस्नुपर्ने भयो ।’ ग्राहकलाई नयाँ टेस्ट दिन उनले १ हप्ता अघिदेखि चिकन मिसाउन थाले, अनि नाम दिए ‘चिकन चटपट’। त्यसमा उनले ‘मिठो नभए पैसा फिर्ता’ को अफर पनि ग्राहकलाई दिएका छन् । त्यसपछि सामाजिक सञ्जालमा उनको पसल झन् भाइरल भयो । उनको चटपट पसलमा अहिले बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म ग्राहकको लाइन लाग्छ । 

उनलाई हिजोआज सेवामा भ्याइनभ्याइ छ । पहिला आफू र परिवारले मात्रै धानेको व्यापारमा अहिले कामदार राख्नुपर्ने भएको उनी बताउँछन् । उनको व्यापारमा श्रीमती र छोराछोरीले पनि साथ दिएका छन् । त्यसबाहेक ३ जना कर्मचारी नै राखेका छन् । ‘बिहानै कलेज बढ्ने भाइबहिनीहरु आउँछन्, उनीहरुका लागि बनाइदिनै प¥यो,’ उनले भने, ‘दिउँसो झन लाइन थामिनसक्नु हुन्छ, बेलुका पनि अफिस बिदा भएर फर्कनेहरु उत्ति नै आउँछन् ।’ चटपट खानेहरुले किराना पसलको पानी, चिसो पेय, चकलेट खरिद गर्ने गरेको उनले सुनाए । उनको दैनिक ७० हजार रुयैयाँको कारोबार गर्छन् । ७० हजार आम्दानी भएकोमा ४० हजार खर्च कटाएर १ दिनमा ३० हजार रुपैयाँ बचत गर्ने उनले सुनाए । 

अहिले उनलाई कोरोनाको कारण दुबई जान नपाएकोमा पछुतो छैन । ‘त्यो बेला लकडाउन नभएर विदेश उडेको भएर के हुन्थ्यो हुन्थ्यो,’ उनले भने, ‘हाम्रो देशमा गरे के नहुने रहेछ र उति बेला जान नपाए पनि अहिले यहीं काम गर्दा खुसी लागेको छ ।’ आफूजस्तै विदेश जान भौतारिने युवायुवतीहरुका लागि गर्न सके नेपालमै धेरै ठाउँ छ भन्ने सुझाव दिन्छन् । ‘मजस्तै युवायुवतीहरु जो विदेशमै सबथोक छ भन्ने सोचेर विदेश जान खोजिरहनु भएको छ, उहाँहरुलाई काम ठूलो सानो नभनी गर्न सक्ने हो भने यहाँ नै राम्रो हुन्छ भन्न चाहन्छु,’ उनले भने, ‘विदेशमा गएर पनि उही धन पैसा नै डुबाउनेमात्रै हो, दलालले फसाउन सक्छन्, देशमा केही गर्न सकिन्छ भनेर आँट्नुपर्छ, एक दिन अवश्य सmल भइन्छ ।’ 


Author

थप समाचार
x