रोजगारी

नेपाल–मलेसिया संयुक्त कार्यसमिति बैठक जुनमा

इकागज |
बैशाख १९, २०७९ सोमवार २०:६ बजे

फाइल फोटो

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको मलेशिया भ्रमण फलदायी भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलले यही वैशाख १४ गतेदेखि पाँचदिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको थियो ।
 
भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले मलेसियाका मानव संशाधन मन्त्री दातुक सेरी एम सराभनन र गृहमन्त्री हम्जाह बिन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरी नेपाली नागरिकलाई मलेसियामा थप रोजगारीका अवसर प्रदान गर्ने र त्यहाँ कार्यरत नेपालीको सेवा सुविधा वृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय भेटवार्ताका क्रममा दुई देशबीच सन् २०१८ मा भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयन, मलेशियाको श्रम बजारको आवश्यकताबमोजिम नेपाली युवालाई सीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने तथा रोजगारीका लागि युवाको छनोट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
 
मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सबलीकरण गर्ने, मलेशियामा रोजगारी गरिरहेका नेपाली नागरिकलाई २४ घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्था गर्ने र श्रम समझदारीअनुसार नेपालले आयोजना गर्नुपर्ने द्विपक्षीय संयुक्त कार्यसमितिको बैठक आगामी जुन महिनाभित्र गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।
 
नेपाली प्रतिनिधिण्डलले मलेशियामा सुरक्षागार्डका रूपमा कार्यरत नेपाली श्रमिकले पारिश्रमिक बढाएर तीन हजार रिङ्गेट पुर्‍याउन आग्रह गरेको थियो । 


संयुक्त कार्यदलको तेस्रो बैठकबाट नेपाली नागरिकलाई मलेशियाका सुरक्षा क्षेत्रमा रोजगारी दिन विशेष व्यवस्था मिलाउन सिफारिस गर्ने, नेपाली श्रमिकको स्वास्थ्योपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षालगायत सुविधाहरुको उपलब्ध गराउन नेपाली टोलीले आग्रह गरेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x