ऊर्जा

ओलीको प्रश्न : ६३८ मेगावाट यो वर्ष आयाे कसरी ?

तथ्यांक भन्छ : यी यसरी

इकागज |
जेठ १२, २०७९ बिहिवार १८:३ बजे

काठमाडौं - मुख्य विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्ने क्रममा भने, ‘यो वर्षको पहिलो दस महिनामा ६३८ मेगावाट विद्युत् उत्पादन कसरी भयो, तथ्यांकहरु गलत र भ्रामक छन् ?’

नीति तथा कार्यक्रमको बुँदा नं. ९ मा ‘असहज परिस्थितिका बाबजुद यो वर्षको प्रथम दस महिनासम्ममा थप ६३८ मेगावाट विद्युत् उत्पादन भएको छ’ लाई ओलीले उडाउँदै भने, ‘कुन आयोजनाबाट ६३८ मेगावाट ? ३८ रुपैयाँ प्रतियुनिट किनेर नेपाली जनताको ढाड सेकाएको कुरा ? के यही हो ६३८ मेगावाट ?’


ओली भन्दै गए, ‘वर्षको पहिलो १० महिना भन्ने यस्तो शब्दावली मैले कहिले पनि सुनेको थिइनँ । वर्षको पहिलो एक महिना भन्छन्, प्रथम चौमासिक, दोस्रो चौमासिक भन्छन् तर पहिलो १० महिनाचाहिं सुनेको थिइनँ । पहिलो १० महिना ? बाँकी कति रह्यो वर्षमा ? दोस्रो १० महिना वर्षमा हुन्छ कि हुँदैन ? वर्षमा दोस्रो १० महिना हुँदैन भने पहिलो १० महिना कहाँबाट आयो हजुर ?’

‘यो कस्तो भाषा हो ? कति सारो नेपाली जनतालाई अल्मल्याएको ?’ ओलीले भने, ‘औंलामा थुक राखेर साटेभन्दा पनि बढी चटक भयो यहाँहरुको ।’
ओलीले यो दस महिनाको अवधिमा कहाँबाट ६३८ मेगावाट थपियो भन्दै प्रश्न गरे । ‘कुन आयोजना सुरु गर्नुभयो ? कुन पूरा गर्नुभयो ? कुनबाट ६३८ निकाल्नुभयो ?’ उनको प्रश्न थियो ।

ओलीले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किनेर नेपाली जनतालाई ९ रुपैयाँमा बेचेको पनि आरोप लगाए । ‘यहाँ पनि अर्काे थुक सार्ने चलाखी देखाउनुहुन्छ । त्यो के भने ९ रुपैयाँ मात्र जनतालाई तिराउने बाँकी त विद्युत् प्राधिकरणले बेहोर्छ । प्राधिकरणले के घरबाट ल्याएर बेहोर्छ ? कि नेपाली जनताले सञ्चित गरेर राखेको पैसाबाट गुल्छर्रा उडाएको हो यो ? अनि जनताले तिर्नुपर्दैन रे,’ उनले भने । 

ओलीले कुन जलविद्युत् आयोजना यो वर्ष सुरु भएर १० महिनामै पूरा भयो त्यसको विवरण पनि माग गरे । 

ओलीले संसदमा ६३८ मेगावाट बिजुली कसरी आयो भनेर प्रश्न गरिरहँदा आफू प्रधानमन्त्री हुँदा गत असार २१ गते उद्घाटन गरेको माथिल्लो तामाकोसी (४५६ मेगावाट) आयोजनालाई बिर्से ।

चालू आर्थिक वर्षको गणना साउन १ गतेदेखि हुने गर्छ । साउन १ देखि हालसम्म २० वटा विद्युत्का आयोजनाहरुले ‘व्यापारिक उत्पादन’ सुरु गरेका छन् । कुनै पनि जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको मितिलाई आधिकारिक रुपमा उत्पादन भएको मानिन्छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन गत असार २१ गते गरेका थिए । तर उक्त आयोजना उद्घाटनका लागि तयार नै थिएन । ‘ओलीकै दबाबमा जबर्जस्ती उद्घाटन गरिएको थियो,’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘टेस्टिङ कमिसनिङ (उत्पादन परीक्षण) नै पूरा नगरी उद्घाटन गरिएको थियो ।’

माथिल्लो तामाकोसी विद्युत् गृहमा रहेका ६ वटा युनिट (बिजुली उत्पादन गर्ने टर्बाइन) मध्ये पाँचौं युनिटको परीक्षण ओलीले उद्घाटन गरिसकेपछि असार ३१ गते भएको थियो । यसको अर्थ उत्पादन परीक्षण नै नगरीकन ओलीले उद्घाटन गरेका थिए । 

माथिल्लो तामाकोसीको व्यापारिक उत्पादन गत भदौ ४ गतेदेखि सुरु भएको हो । व्यापारिक उत्पादन भएको मितिलाई नै आयोजना निर्माण सम्पन्न भएको मानिन्छ । 

प्राधिकरणका अनुसार गत साउन १ देखि हालसम्म २० वटा आयोजनाबाट ६६१.७२ मेगावाट विद्युत् उत्पादन भएका छन् । यसमध्ये १६ मेगावाटका पाँचवटा सौर्य आयोजना छन् । यी आयोजना विगतदेखि नै निर्माणाधीन थिए । नेपालमा एउटा आयोजना निर्माण हुन सालाखाला पाँच वर्ष लाग्ने गर्छ । ओली प्रधानमन्त्री हुनुअघि नै यी आयोजना निर्माणमा गएका थिए । 
 


Author

थप समाचार
x