ऊर्जा

महिला स्वाथ्यका विषयमा तीनवटै सरकारको सहकार्य आवश्यकः मन्त्री भुसाल

महिनावारी दिवसमा एक्सपोज नेपालले गर्‍यो साइकल र्‍याली

इकागज |
जेठ १४, २०७९ शनिबार १२:४९ बजे

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिला स्वाथ्यका विषयमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताएकी छिन् ।
एक्पोज नेपालले अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा आयोजना गरेको जनचेतनामूलक साइकल यात्राको समापन गर्दै उनले महिला स्वास्थ्यका विषयमा सबै तहका सरकारले ध्यान दिनुपर्ने बताइन् ।

‘महिलाको जैविक बनावटको सम्मान गरौँ, महिला स्वाथ्यका विषयमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक छ’ मन्त्री भुसालले भनिन् । मन्त्री भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको भन्दै विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको बताइन् । उनले महिनावारी महिलाको गर्वको विषय भएको पनि उल्लेख गरिन् । ‘यो गर्वको कुरो हो, पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो,’ उनको भनाइ थियो, ‘महिनावारीका समयमा महिलालाई सफा र स्वच्छता आवश्यक पर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग गर्नुपर्छ ।’


उनले समाज विकासका क्रममा महिलाका विषयमा पनि चेतनास्तर बढ्दै गएको अबका दिनमा चेतनास्तरको प्रवर्द्धन गर्दै जानुपर्ने बताइन् । कार्यक्रममा बोल्दै एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपाली महिलाहरू महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले महिनावारी विभेद हटाउन सके हिंसा न्यूनीकरण हुने बताए। 

बिहान बसन्तपुरबाट सुरु भएको साइकल र्‍याली जमल, दरबारमार्ग, पुतलीसडक, अनामनगर, बिजुली बजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजार पाटन दरबार स्क्वायर क्षेत्र पुगेर सकिएको थियो । र्‍यालीमा तीन सय भन्दा बढी व्यवसायिक साइकल यात्रीको सहभागिता रहेको थियो । 
पुनः प्रयोग गर्न मिल्ने प्याड र वातावरणमैत्री साइकलको सम्बन्ध मानव स्वास्थ्य र वातावरणका महत्वपूर्ण रहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाका विरुद्ध र महिनावारी स्वच्छताका क्षेत्रमा काम गरिरहेको छ । संस्थाले विभिन्न जिल्लाका ४ हजार ९ सय महिलालाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम दिइसकेको छ ।


Author

थप समाचार
x