ऊर्जा

तल्लो अरुणको लाभ पाउन भोजपुरवासीले गुहारे राष्ट्रपति

इकागज |
असार ५, २०७९ आइतबार १४:२३ बजे

काठमाडौँ -  तल्लो अरुण जलविद्युत् आयोजना (६७९ मेगावाट) मा ५ प्रतिशत सेयर र आयोजना निर्माणका क्रममा स्थानीय प्रभावितलाई दिनैपर्ने रकमको आधा भोजपुरले पाउनुपर्ने व्यवस्था मिलाउन भोजपुरवासीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गुहारेका छन् ।

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेतृत्व गरेको प्रतिनिधिमण्डलले गत शुक्रबार राष्ट्रपति भण्डारीसँग भेट गरी तल्लो अरुणको लाभ भोजपुरवासीलाई समेत उपलब्ध गराउन अनुरोध गर्‍यो । राष्ट्रपति भण्डारीको जन्म जिल्ला रहेकाले सम्बन्धित निकायमा आवश्यक पहल जोडदार बनाउन प्रतिनिधिमण्डलले अनुरोध गरेको भोजपुरवासी तथा जलविद्युत् व्यवसायी विक्रम बिष्टले बताए ।


योजनाबाट प्राप्त हुने लाभ पारदर्शी तरिकाले सर्वदलीय प्रतिनिधि हुने गरी प्रमुख जिल्ला अधिकारीसहितको समिति बनाई उक्त रकमको न्यायोचित परिचालनका लागि अग्रसर बनाउन राष्ट्रपति समक्ष पुगेको बिष्टले बताए ।

कूल एक खर्ब ५० अर्ब रूपैयाँको लागत रहेको यो आयोजना हाल अरुण तेस्रो निर्माण गरिरहेको एसजेभीएनलाई सरकारले दिइसकेको छ । यो आयोजना निर्माणका क्रममा विद्युत् नियमावली, २०५० र राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणा पत्र र कार्ययोजना, २०७२ अनुसार करिब ८० करोड रुपैयाँ स्थानीय तहमा खर्च गर्नुपर्ने हुन्छ । उक्त रकममध्ये भोजपुर पनि अभिन्न जिल्ला भएकाले आधा रकम भोजपुरले पाउनुपर्ने प्रतिनिधिमण्डलको माग थियो ।

तल्लो अरुणले संखुवासभालाई मात्र प्रभाव पार्ने नभई उक्त नदी भोजपुर र संखुवासभाको साझा नदी हो । अरुण नदी अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहबाट निस्केको पानी टेलरेस हुँदै सुरुङबाट तुम्लिङटारस्थित प्रस्तावित विद्युत् गृहमा ल्याइन्छ । यसो गर्दा भोजपुरको तटीय भाग पनि सुख्खा भई वातावरणमा प्रतिकूल असर पर्ने, अरुण उपत्यकामा पाइने वनस्पति, चराचुरुंगी, पशु जीवजन्तु लोप हुने, सवारी प्रदूषण हुने र जनजीविकामा गम्भीर असर पर्ने अध्ययनले देखाएको छ ।

तल्लो अरुणले भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिकामा प्रत्यक्ष प्रभाव पार्ने र भाजेपुरको पूर्वदेखि पश्‍चिम हुँदै आउने प्रसारण लाइनले धेरै रुख कटानी, वनस्पतिको नाश भई भूक्षय र अनावृष्टि हुने, खडेरी पर्ने मात्र नभई प्रसारण लाइनले धेरै मठ मन्दिर, गुम्बा, पार्टी, धारा, स्कूल भत्काउनुपर्नेमा प्रतिनिधिमण्डलले राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो ।

तल्लो अरुणको विद्युत् गृह संखुवासभामा हुने भए तापनि उक्त आयोजनाले भोजपुरलाई बढी प्रभाव पार्ने भएकाले आयोजनाले स्थानीय प्रभावितलाई छुट्याएको सेयर १० प्रतिशतमध्ये भोजपुरवासीलाई ५ र संखुवासभावासीलाई ५ प्रतिशत छुट्याउनु पर्ने भोजपुरवासीको माग छ ।

आयोजना कार्यान्वयनका क्रममा ‘सार्वजनिक सहयोग कार्यक्रम’ अन्तर्गत तल्लो अरुणको कूल लागत १ खर्ब ६० अर्ब रुपैयाँको ०.५ प्रतिशतले हुन आउने रकम स्थानीय प्रभावितलाई दिनैपर्ने नियम छ । यसअनुसार प्राप्त हुने ८० करोड रुपैयाँमध्ये भोजपुर र संखुवासभालाई आधा-आधा बाँडफाँट गरी नेपाल सरकारले प्राप्त गर्ने वार्षिक रोयल्टीस्वरुप प्राप्त हुने रकम पनि आधा गर्न प्रतिनिधिमण्डलको माग छ ।

राष्ट्रपति समक्ष भेटका क्रममा प्रतिनिधिमण्डलको नेतृत्व गरेका पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालालले तल्लो अरुणले भोजपुर र संखुवासभाका वासिन्दा र प्रभावित स्थानीयलाई फाइदा पुग्‍ने गरी पहल गर्न छलफल गर्दै जानुपर्ने बताए । उनले उक्त आयोजनाबाट प्राप्त हुने वार्षिक रोयल्टीमध्ये संघीय सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत र स्थानीय प्रभावित ठाउँको लागि २५ प्रतिशत बाँडफाँट गर्दा प्राप्त हुने ठूलो रकम सही ठाउँमा लगानी होस् भन्‍ने आफ्नो चाहना रहेको बताए ।

पूर्व मुख्यमन्त्री शेरधन राईले तल्लो अरुणको लाभ दुवै जिल्लाले पाउनुपर्ने बताए । उनले अरुण नदी दुवै जिल्लाको साझा नदी भएको र भोजपुरमा करिब एक लाख १२ हजार जनसंख्या भएको हुँदा भोजपुरवासी हरेक मान्छेले कम्तीमा एक लाख रूपैयाँको लगानी गर्न पाउनुपर्ने र यसका लागि आफू सक्रिय भएको बताए ।  

इप्पानका सदस्य विष्टले दुवै जिल्लाले सेयरसहित पाउनुपर्ने सेवा सुविधा र लाभबारे सहजीकरण गरी दिन अनुरोध गरे । चतरा भोजपुर सडक र अपर अरुणको सेयर लगानीबारे नेपाली कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझीले भोजपुरवासीका लागि विशेष पहल गरिदिन माग गरे ।

राष्ट्रपति भण्डारीले भोजपुर आफ्नो जन्म घर भएकाले र भावना समेत जोडिएको हुँदा भोजपुरको विकास, निर्माण जलविद्युतबारे जानकारी गराउनु भएकोमा भोजपुरवासीलाई धन्यवाद दिइन् ।

प्रतिनिधिमण्डलमा पूर्व मुख्यमन्त्री शेरधन राई, इपानको कार्य समितिबाट पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई, विक्रम बिष्ट, भोजपुरे समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पा, दावाली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठ लगायतका व्यवसायीहरु राजकुमार कार्की नेकपा (माओवादी केन्द्र), नकेपा एमालेका प्रतिनिधि र नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीको उपस्थिति थियो । कार्यक्रममा भोजपुरे सेवा समितिका अध्यक्ष पासाङ दोर्ची शेर्पाले उद्घाटन गरेका थिए ।


Author

थप समाचार
x