ऊर्जा

जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न : ऊर्जामन्त्री भुसाल

इकागज |
असार ११, २०७९ शनिबार १५:२० बजे

फाइल फोटो

ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताउएकी छिन् । 

गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्,  `जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न । विकास जनताका लागि हो भन्ने विषयलाई बुझ्नुपर्छ ।`


ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरी विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जनताको चाहनाअनुसार विकासका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने विश्वास दिलाइन् । 

उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारी निकाय नै सक्षम रहेको बताउँदै त्यस्ता निकायको सुविधाको उपयोग गर्न आम जनतालाई आग्रहसमेत गरिन् । मन्त्री भुसालले भनिन्, `जिल्ला अस्पतालले राम्रो सेवा दिन्छ, सबै प्रकारको उपचार हुन्छ, यहाँका जनतालाई महँगो निजी अस्पताल जानुपर्ने बाध्यता छैन ।` 

त्यसैगरी स्थानीय सरकारी विद्यालयमा निजीकोभन्दा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा सरकारी विद्यालयलाई जिम्मेवार बनाएर गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । 

शिक्षासँगै सीप र व्यावसायिक क्षमता विकास गर्नुपर्ने बताउँदै मन्त्री भुसालले भनिन्, `स्थानीय वडाले महिलालाई सीप उपलब्ध गराएर आयआर्जन गर्न सक्ने बनाउनुपर्छ । त्यसका लागि सहयोग गर्न तयार छु ।` आफूले ऊर्जा मन्त्रालय सम्हालेपछि ललितपुरका सिँचाइ नभएको स्थानमा सिँचाइ उपलब्ध गराएको र भू–क्षयको नियन्त्रणको विषयलाई विशेष प्राथमिकता दिएर बजेट र कार्यक्रम उपलब्ध गराएको उनले बताइन् । 

कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले प्रदेश सरकार र संघीय सांसद भुसालको सहयोगमा निर्माण भएको बहुउद्देश्य हलबाट स्थानीयले महत्वपूर्ण लाभ लिनसक्ने बताइन् । उनले स्थानीय समुदायको प्रतिनिधिमूलक संस्थाले सम्पूर्ण व्यवस्थापन, मर्मतसम्भार एवं उचित हेरविचार गर्ने विश्वास व्यक्त गरिन् । रासस 


Author

थप समाचार
x