ऊर्जा

प्राधिकरणले यसकारण रद्द गर्‍यो २ सय मेगावाट बिजुली बेच्‍ने ठेक्का

इकागज |
असार २०, २०७९ सोमबार १५:३२ बजे

काठमाडौं – विद्युत् प्राधिकरणले वर्षायामका साढे चार महिना प्रतिस्पर्धा गराएर बिजुली बेच्न आव्हान गरेको ठेक्का रद्द गरेको छ । रद्द गर्नुपर्नाका मुख्य कारणमा आकर्षक दर प्रस्ताव नहुनु र भुइँको टिप्न खोज्दा हातकै पोखिने जोखिम हुनु रहेको छ ।

प्राधिकरण स्रोतका अनुसार भारतको ऊर्जा बजार (आईईएक्स) मा प्रतियुनिट औसत ९ रुपैयाँ ६७ पैसामा ३६४ मेगावाट (राउण्ड द क्लक— आरटीसी) बेचिरहेकोमा प्रस्तावकहरुले त्योभन्दा थोरै दर प्रस्ताव गरेकाले रद्द गर्नुपरेको हो ।


प्राधिकरणले गत वैशाख २३ गते गरेको आव्हान गरेको प्रतिस्पर्धामा सातवटा भारतीय कम्पनीले आफ्नो प्रस्ताव गरेका थिए । मनीकरण पावर लिमिटेडले सय मेगावाटका लागि प्रतियुनिट ७.७७६ (नेरु), एनटीपीसी विद्यत् व्यापार निगमले ६.८८, अरुणाञ्चल पावर कम्पनीले ६.७३, पीटीसी लिमिटेडले ६.६२, मनीकरण पावर लिमिटेडले अर्काे सय मेगावाटका लागि ६.५.८८, टाटा पावर ट्रेडिङ कम्पनीले ५.४७ र क्रियट पावरले ६.२५ नेरुमा प्रस्ताव गरेका थिए । त्यसमध्ये रेपेक्स इनर्जी लिमिटेडले रेट नै उल्लेख गरेन ।

प्रस्तावित दर हेर्दा मनीकरणले सय मेगावाट खरिद गरेर प्राधिकरणले २ अर्ब ५१ करोड र एनटीपीसीले सय मेगावाटका लागि २ अर्ब २२ करोड गरी कूल ४ अर्ब ७४ करोड रुपैयाँ पाउने आँकलन थियो ।

प्राधिकरण स्रोतका अनुसार प्रस्तावकहरुको प्रस्ताव स्वीकार गर्दा प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी निष्कर्षमा पुग्ने भएपछि कारण नै नदिईकन रद्द गरेको हो । हाल प्राधिकरणले विभिन्न ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली आईईएक्समा निर्बाध बेचिरहेको छ । प्राधिकरणले गत जूनमा मात्रै बिजुली बिक्रीबापत खूद एक अर्ब ७२ करोड रुपैयाँ कमाएको थियो ।

‘हामीले टेण्डर गरेको बिजुली पनि ३६४ मेगावाटमध्येबाटै थियो,’ प्राधिकरण स्रोतले भन्यो, ‘निर्बाध निर्यात भइरहेको बिजुली कटाएर दिंदा उहाँहरुको रेट पनि कम आयो, प्राधिकरणलाई घाटा हुने देखियो ।’

त्यसबाहेक प्रतिस्पर्धाको प्रक्रिया पूरा गर्दा ६० दिनको अवधि दिनुपर्ने नियमका कारण बेचिरहेको बिजुली रोकेर टेण्डर प्रक्रिया पर्खनुपर्ने भयो । ‘एक त रेट थोरै, त्यसमाथि प्रक्रिया लामो, जोखिम लिन सकिएन,’ स्रोतले भन्यो ।

प्राधिकरणले यो वर्षको वर्षायाममा प्रतिस्पर्धा गराएर बिजुली बेच्दा प्रक्रिया पूरा गर्दागर्दै बर्खायाम नै सकिने स्थिति भएकाले हाललाई भारतीय इनर्जी एक्सचेञ्जमै बेच्ने भएको छ ।

प्राधिकरणले गत यही जुलाई पहिलो सातादेखि नोभेम्बरसम्म २०० मेगावाट बिजुली (आरटीसी) बेच्न टेण्डर गरेको थियो ।


Author

थप समाचार
x