ऊर्जा

तनहुँ हाइड्रोमा जापानी ऋणको गलपासो

तीन गुणा महँगो सामान किन्नैपर्ने अडानले प्याकेज २ को ठेक्का रद्द हुने संघारमा

विकास थापा |
साउन १२, २०७९ बिहीबार १८:३१ बजे

काठमाडौं - जापानले भनेकै कम्पनीको भनेकै मूल्यमा खरिद गर्नुपर्ने अडान चार वर्षदेखि राख्दै आएपछि तनहुँ हाइड्रो (१५० मेगावाट, अर्धजलाशययुक्त) को प्याकेज २ को ठेक्का रद्द हुने संघारमा पुगेको छ ।

जापानको १८ करोड अमेरिकी डलर ऋण रहेको तनहुँ हाइड्रोको टेण्डर डकुमेन्ट बनाउने बेलामा जापानी कम्पनी हिटाची जोजेनबाहेक विश्वमा अरु कुनै पनि देशको कुनै पनि कम्पनीले आपूर्ति गर्न नसक्ने गरी बनाइएको थियो । तनहुँ हाइड्रोको टेण्डर डकुमेन्ट जापानको जे पावरले बनाएको थियो । 


यसैको फाइदा उठाउँदै हिटाचीले बजारको प्रचलित मूल्यभन्दा तीन गुणा महँगोमा आफ्नो सामान लिनुपर्ने अडान चार वर्षदेखि राख्दै आएको छ । आफ्नो अडानमा टसको मस नभएपछि हिटाचीको विकल्पका रुपमा अन्य कम्पनीलाई पनि अनुमति दिनुपर्ने दबाब जाइकामाथि परेको छ ।

प्याकेज २ अन्तर्गत ‘सेडिमेन्ट फ्लसिङ गेट’, ‘वाटर लोअरिङ गेट’, ‘इन्र्भान्रनमेन्टल पावर हाउस’ निर्माण पर्छ । सेडिमेन्ट फ्लसिङ गेटको ठेक्का गर्ने बेलामा जे पावरले दुईवटा क्राइटेरिया (शर्त) राख्यो । पहिलो शर्त थियो, पाँच–पाँच मिटरको फ्लसिङ ५० मिटरभन्दा बढी शिरबाट निस्केको पानीको चाप थेग्ने र २५ मिटरमा खोल्ने बन्द गर्ने ढोका डिजाइन, आपूर्ति, जडान, टेस्टिङ र कमिसनिङ गरेको हुनुपर्ने । 

दोस्रो, यस प्रकारको संरचनाको डिजाइन, आपूर्ति, जडान, परीक्षण गरी लगातार पाँच वर्षसम्म सफलतापूर्वक सञ्चालन गरेको हुनुपर्ने । 

प्याकेज २ काे ठेक्का सम्झाैता, फाइल फाेटाे

प्याकेज २ का लागि जाइकाले ऋण दिएकाले उक्त संरचना पनि हिटाची जोजेनबाहेक अरु कसैले बनाउन नसक्ने गरी जापानले शर्त राखेको हो । त्यतिबेला इटालीको एटीबी रिभाले पनि यस्तो स्टील गेट बनाउन सक्ने भए पनि यस्तो गेट बनाएर सञ्चालन गरेको पाँच वर्षे अनुभव नभएका कारण हिटाची एकमात्र विकल्प थियो ।

प्याकेज २ का लागि चिनियाँ कम्पनी सिनो हाइड्रो र इटालियन कम्पनी सीएमसीले प्रतिस्र्धा गरेका थिए । आयोजना स्रोतका अनुसार सीएमसीले इटालीकै एटीबी रिभाको हाले पनि पाँच वर्षे अनुभव नभएको कारण उसले पनि हिटाची जोजेनसँगै ‘सहमति’ गरेको थियो ।

ठेक्का प्राप्त गरेको सिनो हाइड्रोले पनि हिटाची जोजनसँग सहमति गरी ठेक्का हालेको थियो । ठेक्का हाल्दा यति पैसा पर्छ भन्ने कुनै सम्झौता भएको थिएन । हिटाचीजस्तो कम्पनीले निश्चय पनि बजार मूल्यमै उपलब्ध गराउनेमा सिनो हाइड्रो ढुक्क थियो ।

हिटाची जोजेनलेबाहेक अरुले ठेक्का पाउन नसक्ने गरी जापानले राखेको कडा शर्त (टेण्डर डकुमेन्ट)

फ्लसिङ गेटसम्बन्धी काम अघि बढाउने बेलामा हिटाचीले बजार मूल्यभन्दा तीन गुणा महँगो दिने भए मात्र आफूले आपूर्ति गर्न सक्ने बताउन थाल्यो । यस्तो संरचनाको बजार मूल्य करिब एक करोड ३० लाख अमेरिकी डलर (हालको मूल्यमा एक अर्ब ५९ करोड रुपैयाँ) पर्ने विज्ञहरु बताउँछन् ।

हिटाचीबाहेक अन्य कम्पनीको नहुने भनेर टेण्डर डकुमेन्टमै उल्लेख भएकाले यसको फेरबदलका लागि दातृ निकाय जाइकाको सहमति आवश्यक पर्छ । तर जाइकाले पनि मेलम्ची खानेपानीको पानी प्रशोधन केन्द्रमा आफ्नै देशको कम्पनीले ठेक्का पाउनुपर्ने अडान लिएजस्तै तनहुँ हाइड्रोमा पनि लिंदै आएको छ ।

सन् २०१८ मा ठेक्का हुँदा विश्वका कुनै पनि कम्पनीले यस्तो संरचना आपूर्ति वा निर्माण वा सञ्चालन गरेको पाँच वर्ष पुगेको थिएन । सन् २०२२ मा आइपुग्दा इटालियन कम्पनी एटीबी रिभाको भने उक्त शर्तजन्य अनुभव हासिल गरेको छ । 

जाइकाले चाहेमा इटालियन कम्पनीलाई आपूर्ति गर्न दिलाउन सक्छ । तर उसले आफ्नो देशको कम्पनी भएकाले हिटाचीकै हाल्नुपर्ने अडान लिंदै आएको छ । 

प्याकेज २ को ठेकेदार सिनो हाइड्रोले हिटाची जोजेनले भनेको मूल्यमा खरिद गर्नुको साटो बरु एकतर्फी रुप्मा टेण्डर रद्द गराएर परफर्ममेन्स बन्ड (धरौटी) जफत गराउँदा आफूलाई फाइदा पुग्ने जनाउ आयोजनालाई दिइसकेको स्रोतले बतायो । 

जाइका र हिटाची जोजेन आफ्नै अडानमा रहे भने प्याकेज १ को जस्तै ठेक्का रद्द भई पुनः टेण्डर गर्नुपर्ने हुन्छ । दोहो¥याएर ठेक्का गर्दा आयोजना लागत र अवधि बढ्ने मात्र नभई आयोजनाकै भविष्य अन्धकारमा पर्ने जोखिम रहेको कर्मचारीहरु बताउँछन् । 

कुलेखानीपछि सबैभन्दा ठूलो पिकिङ इनर्जी (अर्धजलाशय) उत्पादन गर्ने जलविद्युत् आयोजना भएकाले तनहुँ हाइड्रो मुलुकको ऊर्जा सुरक्षाको दृष्टिले पनि रणनीतिक महत्वको आयोजना हो । हिउँदयाममा यस्तै आयोजना अभावमा विद्युत् प्राधिकरणले ६० प्रतिशतसम्म बिजुली भारतबाट आयात गर्दै आएको छ ।

तनहुँ हाइड्रोका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हिटाचीले जति मूल्य भनेको छ आफ्नो दृष्टिमा त्यति नपर्ने बताए । ‘यी दुई कम्पनी नेगोसियसन (वार्ता) गरिरहेका छन्, हामीले जाइकालाई पनि लेखेर दिएका छौं,’ श्रेष्ठले बिहीबार इकागजसँग भने, ‘जाइकाले पनि पछिल्लो चरणमा समन्वय गरिरहेको छ, जाइकाले पनि हामीलाई लेखेर दिएको छ ।’

सीइओ श्रेष्ठले दुई कम्पनीबीच ‘कुरो मिलाउने’ प्रयास आफूले गरिरहेको बताए ।

यो प्याकेजको ठेक्का सन् २०१८ को अक्टोबर १ मा भ्याटबाहेक १५ करोड ११ लाख अमेरिकी डलर (हालको मूल्यमा १८ अर्ब ५८ करोड रुपैयाँ) मा सिनो हाइड्रो कर्पाेरेशन लिमिटेडले पाएको थियो । सन् २०१९ को जनवरी १८ देखि काम सुरु भएको यो ठेक्का १८७३ दिन (मार्च ४, २०२४) पूरा गर्नुपर्नेछ ।  
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x