ऊर्जा

बंगलादेश २०० मेगावाट मात्रै भए पनि आयात गर्न तयार छ : ऊर्जा सचिव

इकागज |
बैशाख ५, २०७८ आइतबार १२:२६ बजे

काठमाडौँ : उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले नेपालमा उत्पादित विद्युत आयात गर्न बंगलादेश तयार रहेको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै सचिव घिमिरेले बंगादेशले अहिलेलाई २०० मेगावाट मात्रै भएपनि आयात गर्न छलफल अघि बढाएको जानकारी दिए । 

नेपालमा नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिका आयोजनाको उत्पादन बढ्दा वर्षायाममा अधिक विद्युत उत्पादन हुन्छ । ऊर्जा सचिव घिमिरेका अनुसार अहिले नेपालको कुल उत्पादन जडित क्षमता १,४६२ मेगावाट र प्रतिव्यक्ति विद्यु‍त खपत २६० युनिट रहेको छ । उनले निकट भविष्यमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्यु‍त आयोजना पनि निकट भविष्यमा सम्पन्‍न हुन लागेकाले उत्पादित विद्युत बिक्री गर्ने बाटो खोल्न मन्त्रालयले पहल गरिरहेको जानकारी दिए । ‘वैशाखभित्र माथिल्लो तामाकोशीबाट प्रारम्भमा ७६ मेगावाट विद्युत उत्पादन हुनेछ,’ उनले भने, ‘ऊर्जा उत्पादनमा तीव्रता आए पनि नदीप्रवाहमा आधारित विद्युत आयोजना धेरै भएका कारण सुख्खायाममा भारतकै भर पर्नुपर्ने अवस्था छ ।’


उनले ढल्केबरको ४०० केभी सबस्टेशन पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताए । विद्युत निर्यात मात्र नभएर आन्तरिक खपत बढाउन विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । ऊर्जा मन्त्रालयले आगामी दिनमा ठूला र जलाशययुक्त आयोजनालाई अघि बढाउन प्रयास गरिरहेको सचिव घिमिरेले समितिलाई जानकारी गराएका छन् । बूढीगण्डकी, पश्चिम सेती, दूधकोसी, त्रिशुली–४ जस्ता मेगा प्रोजेक्ट अघि बढाउने उनको भनाइ थियो । आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रममा ४३ जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उल्लेख छ भने आगामी वर्ष सात सय ७० मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिनेछ । 

आगामी बजेटमा ऊर्जा मन्त्रालयका नीति कार्यक्रमका सम्बन्धमा समितिका सदस्यहरूले गरेको प्रश्नमा सचिव घिमिरेले मन्त्रालयलाई दिइएको सिलिङमा कुनै समस्या नभएको बताए । यद्यपि, आगामी वर्ष ९४अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालनका लागि १४–१५ अर्ब रुपैयाँजति समकारक कोष (काउन्टर पार्ट फण्ड) चाहिएको भन्दै उनले अहिले ८ अर्ब मात्र उपलब्ध भएको बताए ।
 


Author

थप समाचार
x