ऊर्जा

१५०० मेगावाटका नयाँ पीपीए प्रकरण : ऊर्जा मन्त्रीको प्रस्ताव आज पारित भएन

इकागज |
मंसिर २१, २०७९ बुधबार १९:४१ बजे

काठमाडौं- नयाँ सरकार गठनको आखिरी दिनहरूमा आएर नेपाल विद्युत् प्राधिकरणलाई दीर्घकालीन आर्थिक भार पर्ने नयाँ विद्युत् खरीद सम्झौता (पीपीए) खुलाउने ऊर्जा मन्त्री पम्फा भुसालको योजना आज (बुधबार) सफल हुन सकेन ।

आज अपरान्ह बसेको सञ्चालक समिति बैठकमा अधिकांश सदस्यहरू अनुपस्थित भएका कारण पहिलो नम्बरमा रहेको उक्त एजेन्डामा छलफल नै नभइ टुंगिएको प्राधिकरण स्रोतले बताएको छ ।


आजको बैठकमा राजस्व सचिव रामेश्वर दंगाल, सञ्चालकहरू राजेन्द्रबहादुर क्षेत्री ‘सफल’, भक्तबहादुर पुन ‘जलान’ र कपिल आचार्य अनुपस्थित भएको स्रोतले जानकारी दियो ।

आजको सञ्चालक समिति बैठकमा १५०० मेगावाटका नयाँ पीपीए खुलाउने एजेन्डा पहिलो नम्बरमा थियो । ‘आज बैठकै बसेन, र यो विषय (पीपीए) को चर्चासमेत भएन,’ स्रोतले भन्यो ।

नयाँ सरकार गठन हुन केही दिन बाँकी रहेको र आफ्नो कार्यकालको अन्तिम समयमा आएर प्राधिकरणलाई दीर्घकालीन भार पर्ने विषय पारित गराउन खोजेको भन्दै आज दिनभरि ऊर्जा मन्त्रालय र प्राधिकरणमा मन्त्री भुसालको आलोचना भएको थियो ।

सरकारकाे बहिर्गमनका बेला हतार हतारमा पीपीए खुलाउने एजेन्डाबारे आज दिउँसाे इकागजले समाचार प्रकाशित गरेकाे थियाे ।

र यो पनि

जाँदाजाँदै विद्युत् प्राधिकरणलाई अर्बाैं भार पार्ने पीपीए गर्दै ऊर्जामन्त्री


Author

थप समाचार
x