ऊर्जा

खानेपानीको विद्युत् महसुल घटाइनेछ : मन्त्री चौधरी

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १६:२६ बजे

फाइल फोटो

काठमाडौँ - खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानीमा प्रयोग हुने विद्युत्को महसुल घटाइने बताएका छन् । उनले उज्यालो नेपालको सातौँ वार्षिक साधारणसभालाई आज काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै मन्त्रालयले खानेपानीको विद्युत् महसुल घटाउन प्रयासरत रहेको जानकारी दिए । 

`खानेपानीको विद्युत् महसुल सकभर निःशुल्क, नसके अहिलेको भन्दा घटाइन्छ`, मन्त्री चौधरीले भने, `सिँचाइको भन्दा कम विद्युत् महसुलका लागि प्रयासरत छु ।` उनले निकै क्षेत्रबाट खानेपानीमा विद्युत् महसुल घटाउन मन्त्रालयमा प्रस्ताव आइरहेको बताए । 


मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाल र पहाडका पानीका मुहान सुक्दै गएको र तराईमा पानीको सहत घट्दै गएकाले खानेपानीको व्यवथापन गर्न निकै गाह्रो भइरहेको दुःखेसो पोखे । `यसकारण मैले हिमाल र पहाडमा मूल फुटाउ अभियान सुरु गरेको हुँ, पोखरी खनेर वा मूल फुटाउने उपाय गरेर खानेपानी समस्या टार्न सकिन्छ`, उनले भने । 

कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले कतिपय स्थानमा खानेपानीको स्रोत नहुँदा सबैलाई पुर्‍याउन नसकिएकाले थप अध्ययन भइरहेको तर स्रोत भएको स्थानमा सरकारको ‘एक घर–एक धारा’ कार्यक्रम प्रभावकारी भएको बताए । 

बेचानथोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा सहयोग गरेकोमा खुसी व्यक्त गरे । संस्थाका उपाध्यक्ष सञ्जय श्रेष्ठले संस्थाको गतिविधिका बारेमा जानकारी गराएका थिए । रासस


Author

थप समाचार
x