ऊर्जा

जलविद्युत् उत्पादन एकतिहाइ मात्रै

इकागज |
माघ १३, २०७९ शुक्रबार १३:३० बजे

काठमाडौं - देशको विद्युत् जडित क्षमता करिब २२ सय मेगावाट । सुख्खायामको सुरुवातसँगै नदीहरूमा पानीको वहाव कम हुँदा जलविद्युत् उत्पादन ८ सय मेगावाटमा सीमित भएको छ । यो जलाशययुक्त कुलेखानीबाहेकको हो । 

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार बिजुली उत्पादनमा कमी आएपछि विशेष गरी बीरगञ्ज र भैरहवा औद्योगिक कोरिडरमा बिहान र बेलुकी गरी आठ घण्टासम्म आपूर्ति कटौती गरिएको छ । ‘कहिलेकाहीं यी औद्योगिक कोरिडरहरूमा दैनिक तीन, चार घण्टा मात्रै आपूर्ति कटौती भएको छ,’ भट्टराईले इकागजसँग भने, ‘पूर्वमा खासै समस्या छैन ।’


उनका अनुसार भारतको ऊर्जा विनिमिय (आईईएक्स) मा बिडिङमा नपरेको बेला पूर्वको औद्योगिक कोरिडरमा विद्युत् आपूर्ति कमी हुने गरेको छ । ‘नेपालको आफ्नै उत्पादन एक तिहाईमा झरेको छ,’ उनले भने, ‘काबेली कोरिडरमा २ सय मेगावाट रहेकोमा अहिले मुश्किलले ३६ मेगावाट मात्र उत्पादन भइरहेको छ ।’

प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार प्रणालीमा उच्चतम विद्युत् माग (पिक डिमाण्ड) १६८३ मेगावाट छ । ऊर्जा मागका हिसाबले प्रणालीमा क्ुल २ करोड ९५ लाख ७१ हजार युनिट छ । 

प्राधिकरणको आफ्नै विद्युत् गृहबाट ६० लाख ३ हजार, निजी क्षेत्रबाट ९२ लाख ४८ हजार, प्राधिकरणका सहायक कम्पनीबाट ३१ लाख ३५ हजार, भारतबाट आयात ९२ लाख ४८ हजार आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । कुल ऊर्जा मागमा ९ लाख ५० हजार युनिट बिजुली बराबरको लोडसेडिङ गरिएको छ । 

देशको एकमात्र जलाशययुक्त विद्युत् गृह कुलेखानी पहिलो, दोस्रो र तेस्रो गरी कुल १०६ मेगावाट छ । तर प्रणाली सन्तुलनका लागि मात्र आवश्यक परेको बेला सञ्चालन गर्ने गरिएको भट्टराईले बताए ।


Author

थप समाचार
x