ऊर्जा

तनहुँ जलविद्युत् आयोजनाको सुरुङ बनेपछि निर्माणमा सहज

इकागज |
माघ २१, २०७९ शनिवार १४:२३ बजे

तनहुँ- ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ बनेपछि निर्माणको काममा सहज भएको छ ।    
    
व्यास नगरपालिका–५ बेतेनीतर्फ उक्त प्रवेश सुरुङ (ब्रेक थु्र) भएपछि सेती नदीको बायाँतर्फ गरिने निर्माण कार्यका लागि निर्माण सामग्री तथा उपकरण लैजान र मानिसलाई आवतजावतमा सहज भएको हो । बाँधसम्म जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायीरुपमा प्रयोग गरिने आयोजना प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।    
    
सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ भएको प्रवेश सुरुङ निर्माण सम्पन्न गरिएको हो । आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ ।    
    
त्यसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति लगायतका काम भइरहेको उनले बताए ।    
    
पाँच सय ३९ दशमलव आठ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थु्र भइसकेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रोले गरिरहेको आयोजना प्रमुख श्रेष्ठले बताए। आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केइसीले गरिरहेको छ ।    
    
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।    
    
 त्यसमा एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।    



Author

थप समाचार
x