ऊर्जा

खिम्तीको नाफा १२० प्रतिशत घट्यो, साझेदार बीपीसीको २७ करोड ४० लाखमा सीमित

इकागज |
माघ २९, २०७९ आइतबार १३:५९ बजे

काठमाडौं - अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) सकिएको दुई वर्षपछि हिमाल पावर लिमिटेडको नाफा एक सय २० प्रतिशतले घट्न पुगेको छ ।

२०७७ असार २८ गतेदेखि खिम्तीको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा सरेसँगै यसको अन्तरिम पीपीए दर हाललाई प्रतियुनिट २ रुपैयाँ रहेका कारण नाफामा उल्लेखनीय गिरावट आएको हो ।


खिम्तीको नाफा घटेसँगै यसको साझेदार रहेको बुटबल पावर कम्पनी (बीपीसी) को नाफामा पनि गत वर्षको तुलनामा २२ करोड ८० लाख रुपैयाँले घटेको छ । हिमाल पावरमा बीपीसीको १६.८८ प्रतिशत शेयर छ । बीपीसीले गत वर्ष (२०७७/७८) ५० करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यो वर्ष (२०७८/७९) मा उसको नाफा २७ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।  

अघिल्लो वर्ष (२०७७÷७८) बीपीसीले हिमाल पावरबाट ३१ करोड ८२ लाख ४२ हजार रुपैयाँ लाभांश पाएको थियो । यो वर्ष (२०७८÷७९) मा हिमाल पावरको खाटा १ करोड ५२ लाख रुपैयाँ रहेको बीपीसीले हालै प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा छ । त्यति बेला हिमाल पावरको खुद नाफा २५ करोड ४१ लाख रुपैयाँ थियो । उक्त खुद मुनाफामा पनि त्यस वर्षभन्दा अघिल्लोको तुलनामा ९३ प्रतिशतले कम थियो ।

आर्थिवर्ष २०७२/७३ मा बीपीसीले हिमाल पावरबाट ५२ करोड २८ लाख ५७ हजार रुपैयाँ लाभांश पाएको थियो ।  

६० मेगावाटको खिम्ती जलविद्युत्को प्रवद्र्धक हिमाल हाइड्रोले २०५७ साल असार २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । बीपीसी, नर्वेजियन कम्पनी स्टाटक्राफ्ट एसएप, एबीबी इनर्जी एस (हाल एबीबी क्राफ्ट) र जीई हाइड्रोको संयुक्त लगानीमा हिमाल पावर कम्पनी खडा गरिएको थियो ।

पीपीएमा भएको व्यवस्थाअनुसार हिमाल पावरले आधा शेयर प्राधिरकणलाई दिनुपर्नेछ । अमेरिकी डलरको पीपीएको प्रभावकारिता समाप्त भएको दुई वर्ष सात महिना बितिसक्दा पनि संयुक्त उपक्रम कम्पनी स्थापना भएको छैन भने यसको संशोधित पीपीए दर कति रुपैयाँमा हुने भन्ने छलफलकै क्रममा छ ।

नेपालका प्रमुख राजनीतिक दलहरुलाई आफ्नो प्रभावमा पारी हिमाल पावर पहिलोपटक अमेरिकी डलरमा पीपीए गराउन सफल भएको थियो ।

र, यो पनि

यसरी लुटेको थियो खिम्तीले २० वर्षसम्म प्राधिकरणलाई

खिम्तीले एक अर्ब २९ करोड रुपैयाँ लाभकर तिरेन : महालेखा

६० मेगावाटको खिम्तीले एक वर्षमा पाँच अर्ब कमाउँछ

खिम्तीको एक वर्षको खुद मुनाफा ३ अर्ब ७२ करोड रुपैयाँ

खिम्तीले लग्यो ७२ अर्ब रुपैयाँ

 


Author

थप समाचार
x