वर्षायामको जगेडा बिजुली बिहार निर्यातको प्रबल सम्भावना
काठमाडौँ- नेपालको वर्षायामको जगेडा बिजुली भारतको बिहार राज्यमा निर्यात हुने सम्भावना प्रबल भएको छ । नेपालको वर्षायामको बिजुली भारतको बिहार राज्यलाई बेच्ने वा उसले नलिए बिहारको प्रसारण संरचना उपयोग गरी केन्द्रीय ग्रीडमा पठाउने गृहकार्यमा दुवै देश जुटेका छन् । वर्षायामअघि नै र आगामी एक महिनाभित्र भारतले आफ्ना प्राविधिक पक्ष तयार गरी नेपालको बिजुली निकासी गर्न दिन लागेको हो ।
नयाँ दिल्लीमा हिजो शुक्रबार सम्पन्न नेपाल–भारत विद्युत् आदान प्रदान समितिको १४ औँ बैठकमा भारतसँग यस्तो सहमति भएको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘गएको ऊर्जा सचिव स्तरीय बैठकले नेपालको बिजुली बिहारमा निर्यात गर्ने सम्बन्धमा कार्यादेश दिएको थियो,’ घिसिङले शनिबार नयाँ दिल्लीबाट टेलिफोनमा इकागजसँग भने, ‘अबको एक महिनाभित्र सबै मोडालिटी (ढाँचा) तयार गर्ने सहमति भएको छ ।’
घिसिङका अनुसार नेपालले वर्षायाममा ५ सय मेगावाट बिजुली बिहारलाई दिन सक्छ । यसका लागि भारतीय पक्षसँग विभिन्न चरणमा छलफल भएको, भारतीय पक्षले सहमति जनाएको, के कस्ता विधि र उपाय उपयोग गरी बिजुली ल्याउन सकिन्छ भन्नेबारेमा छलफलमा जुटेको घिसिङको भनाइ छ ।
‘बिहारसँग जोडिएका लाइनबाट वर्षायाममा बिहारलाई निर्यात गर्ने वा बिहारले नलिए उसको संरचना उपयोग गरी केन्द्रीय ग्रीडमा पठाउने सहमति छ,’ घिसिङले भने, ‘यसका लागि वर्षायामअघि नै उहाँहरुले एउटा मोडालिटी तयार पार्छौँ भन्नुभएको छ ।’
प्रसारण शुल्क कति तोक्ने, प्रसारण लस (चुहावट) कायम राख्ने, मिटरिङ कसरी गर्ने, कुन समयमा नेपालले निर्यात गर्ने आदि मोडालिटी तयार गरेर पुनः नेपालसँग बैठक गरी अघि बढ्ने सहमति गरिएको घिसिङले जानकारी दिए ।
घिसिङका अनुसार वर्षायममा थप ५ सय मेगावाट जगेडा बिजुली बिहार वा उसको केन्द्रीय ग्रीड वा विद्युत् खरिदकर्तालाई निर्यात गर्न सकिन्छ ।
केही दिनअघि भएको ऊर्जा सचिव स्तरीय बैठकले ढल्केबर–म्जफ्फपुर ४०० केभी प्रसारण लाइनको क्षमता ८ सय मेगावाट कायम गरेको थियो । बिहारको पनि बाटो खुलेमा नेपालले वर्षायाममा १३ सय मेगावाट बिजुली निर्यात गर्न सक्छ । बिहारले सहमति दिएपछि उसको संरचना उपयोग गरी दैनिक बिडिङमा वा द्विपक्षीय सम्झौता गरी बिजुली निकासी गर्न सकिनेछ ।
आदान प्रदानको मूल्य वृद्धि किन भयो ?
बैठकमा नेपाल–भारत विद्युत् आदान प्रदान गर्दा यसको मूल्यमा ५.५ प्रतिशत वृद्धि गरिने सहमति भयो । यो सहमतिअनुसार १३२ केभीको प्रसारण लाइनमा प्रतियुनिट ७.२१ भारु (११ रुपैयाँ ५३ पैसा) हुनेछ । नेपालले रक्सौल र रामनगरबाट मात्र आदान प्रदान अन्तर्गत हिउँदयाममा बिजुली आयात गर्दै आएको छ । आदान प्रदान अन्तर्गत सुख्खायाममा नेपालले करिब ४ अर्ब रुपैयाँको बिजुली आयात गर्ने गरेको घिसिङको भनाइ थियो । उनका अनुसार रामनगरबाट ८०–८५ मेगावाट र रामनगरबाट ५०–५५ मेगावाट आयात हुने गर्छ । नेपालले पनि सोही दरमा भारतमा बिजुली बेच्न पाउँछ ।
भारतमा आयातीत र उसको आन्तरिक उत्पादन भएको कोइला मिसाएर बिजुली उत्पादन हुन्छ । यसको आधार दर नै प्रतियुनिट भारु ६.५ भारु (१० रुपैयाँ ४० पैसा) छ । त्यसमा प्रसारण चुहावट, अन्य खर्च र नाफा जोड्दा प्रतियुनिट न्यूनतम ९ भारु (१४ रुपैयाँ ४० पैसा) सम्म पर्ने गरेको घिसिङले बताए । ‘हामीले बिड गरेर आयात गरेको बिजुलीभन्दा आदान प्रदानको बिजुली सस्तो पर्छ,’ उनले भने, ‘फेरि आदान प्रदान अन्तर्गत हामीले चौबीसै घण्टा लिनुपर्ने होइन, हामीलाई चाहिएको बेला मात्र लिने हो ।’
भारतले कोइलाको अन्तर्राष्ट्रिय भाउ बढेको देखाएर विगत चार वर्षदेखि हरेक वर्ष ५.५ प्रतिशतले मूल्य वृद्धि गरेर बिलिङ गरेको थियो । नेपालले त्यसलाई मानेको थिएन । मूल्यवृद्धि अनुसार भुक्तानी नगर्ने हो भने भारतले आदान–प्रदान अन्तर्गत नेपाललाई बिजुली नदिने र उक्त समितिलाई नै भंग गर्ने चेतावनी दिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया