ऊर्जा

मेवा कोरिडरमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु

इकागज |
चैत ५, २०७९ आइतबार २०:६ बजे

ऊर्जा सचिव एवं ग्रीड कम्पनीका अध्यक्ष दिनेश घिमिरे प्रसारण लाइनको शिलान्यास गर्दै । तस्वीर साैजन्य /ग्रीड कम्पनी

काठमाडौं– पूर्वको मेवा कोरिडरमा १३२ केभी प्रसारण लाइन निर्माण हुने भएको छ । मेवा नदीमा रहेका विभिन्न जलविद्युत् आयोजनाहरूबाट उत्पादन हुने बिजुलीलाई साझा प्रसारण लाइनमार्फत ल्याउन यो संरचना बनाउन लागिएको हो । 

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले निर्माण गर्न लागेको यो प्रसारण लाइनको ऊर्जा सचिव एवं कम्पनीका अध्यक्ष दिनेशकुमार घिमिरेले आयोजनाको टावर निर्माणको शिलान्यास गरेर सुरु गरेका छन् । 


ऊर्जा सचिव घिमिरेले गत शुक्रबार आयोजनास्थल ताप्लेजुङको मेवादेखि चाँगे (ढुंगेसाँघु) सम्म निर्माण हुने २० किलोमिटर उक्त प्रसारण लाइनको शुभारम्भ गरेका हुन् । यो लाइन निर्माण भएपछि यसबाट १५० मेगावाट बिजुली प्रवाह हुनेछ ।

घिमिरेका अनुसार आयोजनापिच्छे छुट्टाछुट्टै तवरले प्रसारण लाइन बनाउँदा माकुरोका जालो जस्तो हुनेछ, यसले वातावरणीय असर पार्ने, खर्च धेरै हुने भएकाले एउटै संरचनाबाट धेरै आयोजनालाई समेट्न ग्रीड कम्पनीले यो प्रसारण लाइन बनाउन लागेको जानकारी दिए ।  ‘ग्रीड कम्पनीले निर्माण गर्न लागेको यो नै पहिलो आयोजना हो,’ कम्पनीका अध्यक्षसमेत रहेको घिमिरले आइतबार इकागजसँग भने, ‘यसमा नेपाल विद्युत् प्राधिकरण, ग्रीड कम्पनी र जलविद्युत् प्रवर्द्धकबीच त्रिपक्षीय सम्झौता भई बिजुली प्रसारण हुनेछ ।’

घिमिरेले शिलान्यासका क्रममा ग्रीड कम्पनी र निर्माण व्यवसायलाई आयोजना समयमा नै सम्पन्न गर्न निर्देशन दिंदै मन्त्रालयले परेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त आयोजना अन्तर्गत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ मा १३२÷३३ के.भी. को मेवा सवस्टेशन तथा उक्त सवस्टेशनदेखि मैवाखोला गाउँपलिका–१ स्थित ढुङ्गेसाँघु सव–स्टेशनसम्म करिब २० कि.मी. लामो १३२ के.भी.को डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइनमा ६२ वटा टावर रहनेछन् ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले मेवा खोला बेसिनमा निर्माण गरिने मेवा खोला जलविद्युत आयोजना, तल्लो मेवा खोला जलविद्युत आयोजना, सोना खोला जलविद्युत आयोजना, पालुन खोला–१ जलविद्युत आयोजना, पालुन खोला सानो जलविद्युत आयोजना, माथिल्लो मेवा खोला–ए जलविद्युत आयोजना लगायतका जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब १५० मेघावाट विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताए ।

उनले छुट्टाछुट्टै प्रसारण लाइन निर्माण गर्नु भन्दा एउटा साझा प्रसारण लाइन निर्माण गरी विद्युत प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त देखिएकाले यस आयोजना अगाडि बढाइएको जानकारी दिए ।


Author

थप समाचार
x