ऊर्जा

उद्योग मन्त्रालयले तिर्ने प्रतिबद्धतापछि प्राधिकरणले उदयपुर सिमेन्टको लाइन जोड्यो

इकागज |
जेठ ६, २०८० शनिवार ९:३७ बजे

फाइल फोटो

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले उदयपुर सिमेन्ट उद्योगको काटिएको विद्युत् लाइन हिजो शुक्रबार राति नौ बजे पुनः जोडिदिएको छ ।

उद्योग मन्त्रालयले २४ करोड रुपैयाँ महसुल बक्यौता नियमिततर्फको बक्यौता पाँच किस्तामा तिर्ने प्रतिबद्धता जनाएपछि हिजो लाइन जोडिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । 


प्राधिकरणले नियमित बक्यौता नतिरेको भन्दै गत वैशाख ३१ गते उदयपुरको विद्युत् लाइन काटेको थियो ।
उदयपुर सिमेन्टको डेडिकेटेड फिडरको बक्यौताबाहेक नियमित महसुल तिर्न बाँकी २४ करोड रुपैयाँ रहेको पनि सिलवालले जानकारी दिए । ‘२०७७ साउनपछि डेडिकेटेड फिडरको महसुल हट्यो,’ सिलवालले शनिबार इकागजसँग भने, ‘उदयपुरको डेडिकेट महसुल मात्र ११ करोड रुपैयाँ छ ।’

राजनीतिक नियुक्तिले थिलथिलो भएको उदयपुर सिमेन्टले एक अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दायित्व तिर्न बाँकी छ । 
प्राधिकरणले महसुल समयमा नतिर्ने जुनसुकै ग्राहकको पनि लाइन काट्ने नीति लिएको छ ।


Author

थप समाचार
x