ऊर्जा

यी हुन् प्राणवायु दिने जलविद्युत् आयोजनाहरू

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १४:१५ बजे

फाइल तस्‍बिर

काठमाडौं : प्राणवायु (अक्सिजन) अभावमा बिरामीहरूको मृत्यु दर बढ्दै गएपछि विद्युत् विकास विभागले सुरु गरेको सिलिन्डर संकलन अभियानमा निर्माणाधीन र सम्पन्न भइसकेका जलविद्युत् आयोजनाहरूले धमाधम सहभागिता जनाउन थालेका छन् । विभागका महानिर्देशक नबिनराज सिंहका अनुसार हालसम्म विभिन्न आयोजनाका ६४७ वटा सिलिन्डिर नेपाल सरकारका विभिन्न निकायलाई हस्तान्तरण भइसकेको छ । देशभरका जलविद्युत् आयोजनाहरूसँग ८५९ वटा सिलिन्डिर रहेको जानकारी विभागलाई दिएको सिंहले बताए ।

हाल निर्माणाधीन आयोजनाहरूसँग २१२ वटा सिलिन्डिर बाँकी छन् । यी सिलिन्डिर पनि माग भई आउनेबित्तिकै सम्बद्ध निकायमा हस्तान्तरण हुने सिंहले बताए । ‘सिलिन्डर आउने क्रम बढ्दो छ,’ सिंहले शुक्रबार इकागजसँग भने । यसैगरी सञ्चालनमा रहेका ९४ वटा जलविद्युत् आयोजनाहरूमध्ये सिलिन्डिर भएकाले १८ वटा सरकारलाई बुझाएका छन् । अब चालू रहेका आयोजनासँग जम्मा दुईवटा मात्र बाँकी रहेको विभागले जनाएको छ । 


हाल देशभर साना ठूला गरी २१५ वटा जलविद्युत् आयोजनाहरु निर्माण भइरहेका छन् । सञ्चालनमा रहेकाभन्दा पनि निर्माणमा रहेका आयोजनाहरूसँग अक्सिजन सिलिन्डर हुने गर्छ । विभिन्न जिल्लामा रहेका जलविद्युत् आयोजनाहरूले दिएका सिलिन्डर प्रहरी र जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य चौकी, स्थानीय अस्पतालमा लगिएको छ । सबैभन्दा धेरै जलविद्युत् आयोजना निर्माण भइरहेको सोलुखुम्बुका अधिकांश सिलिन्डर प्रशासनले लिएको छ । 

विभागका अनुसार माथिल्लो तामाकोसी (४५६ मेगावाट, दोलखा) ले सात वटा सिलिन्डर उपलब्ध गराएको छ । त्यसैगरी खानीखोला (४० मेगावाट, दोलखा) ले पनि १४ वटा सिलिन्डर दिएको छ । दोर्दी खोला (२७ मेगावाट, लमजुङ) ले पनि ७ वटा सिलिन्डर जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

हालसालै निर्माण सम्पन्न भएको मिस्ट्रीखोला (४२ मेगावाट, म्याग्दी) ले पनि एउटा सिलिन्डर उपलब्ध गराएको छ । सिलिन्डर उपलब्ध गराउने आयोजनाहरुमा रसुवागढी (१११ मेगावाट, रसुवा) ले २५ वटा, न्यादी खोला (३० मेगावाट, लमजुङ) ले ७ वटा, तल्लो तादी खोला (५ मेगावाट, नुवाकोट) ले १६ वटा, खिम्तीखोला (३० मेगावाट, दोलखा) ले ५ वटा सिलिन्डर स्थानीय प्रशासनलाई दिएका छन् ।

सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोसी (१०२ मेगावाट) ले २ वटा सिलिन्डर बाह«बीसे गाउँपालिकालाई दिएको विभागले जनाएको छ । सबैभन्दा बढी सिलिन्डर सोलुखुम्बुबाट संकलन भएको छ । तल्लो सोलु (८२ मेगावाट) ले ७५ वटा, सोलु खोला (८६ मेगावाट)ले ५० वटा सिलिन्डर जिल्ला प्रशासनलाई बुझाएको छ । यो आयोजनासँग अझै ७४ वटा सिलिन्डर छन् ।

त्यसै गरी रामेछापमा निर्माणाधीन लिखु–१ (७७ मेगावाट) र लिखु–२ (५५ मेगावाट) ले १६१ वटा र तल्लो लिखु (२८ मेगावाट) ले १४ वटा सिलिन्डर प्रशासन कार्यालयलाई दिएका छन् । बझाङको माथिल्लो कालांगाड (३८.४६ मेगावाट) ले १४६ वटा सिलिन्डर दिएको छ । विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्र (१४० मेगावाट) ले जिल्ला प्रशासनलाई १२ वटा, सिन्धुपाल्चोकको माथिल्लो बलेफी ए (३६ मेगावाट) ले पाँचवटा, कास्कीको विजयपुर खोला–२ (४.५ मेगावाट) ले तीनवटा र ताप्लेजुङको मध्य तमोर (५४ मेगावाट) ले १२ वटा सिलिन्डर स्थानीय प्रशासनलाई दिएका छन् ।

सिलिन्डर दिने अन्य जलविद्युत् आयोजनाहरूमा म्याग्दीमा निर्माणाधीन निलगिरी खोला (३८ मेगावाट) ले ११ वटा, निलगिरी क्यासकेड (६२ मेगावाट) ले २ वटा,  लमजुङको सुपर न्यादी (४०.२७ मेगावाट) ले ३ वटा, पाँचथरको काबेली बी क्यासकेड (९.९४ मेगावाट) ले सातवटा र गोर्खाको दूधपोखरी चेपे (८.३१ मेगावाट) ले २५ वटा सिलिन्डर दिएका छन् ।


Author

थप समाचार
x