ऊर्जा

लिखु-२ जलविद्युत् आक्रमणको इप्पानद्वारा भर्त्सना

इकागज |
जेठ ११, २०८० बिहिवार १७:३२ बजे

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले लिखु-२ जलविद्युत् (५५ मेगावाट) आयोजना स्थलमा स्थानीय बासिन्दाले गरेको आक्रमणको भर्त्सना गरेको छ ।

उक्त आयोजनाको साइट अफिसमा केही स्थानीय व्यक्तिहरूले आयोजनाको विद्युतगृह क्षेत्रमा हुलहुज्जत गर्ने, तालाबन्दी गर्ने र आयोजनाका कर्मचारीहरूलाई तर्साउनेलगायतका कार्य गरी आयोजना सञ्चालनमा अवरोध खडा गरी काममा गम्भीर असर पुर्‍याएको घटनाप्रति इप्पानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।


ग्लोबल हाइड्रोपावर एसोसियट लि. ले प्रवर्द्धन गरेको रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. १ निर्माणाधीन छ ।

‘यस्तो उच्छृङ्खल तथा अराजक घटनाको इप्पान घोर भर्त्सना र निन्दा गर्दछ,’ इप्पानले आज (बिहीबार) एक विज्ञप्ति जारी गरी भनेको छ, ‘साथै आयोजनाहरू र त्यसका सरोकारवाला पक्षहरूबीचको कुनै पनि असमझदारी भएमा आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिनेतर्फ इप्पान जोड दिन चाहन्छ ।’

इप्पानले विगत केही समयदेखि विभिन्न जलविद्युत् आयोजनाहरूमा आफ्ना माग पूरा गराउन आयोजनालाई गम्भीर क्षति पुऱ्याउने तथा प्रवर्द्धक धक एवं कर्मचारीहरूलाई मानसिक र भौतिक रूपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले उच्छृङ्खल, अराजक र उदण्ड गतिविधि हुने गरेको जनाएको छ ।

‘यस्ता प्रकारका गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएर समग्र रूपमा यो क्षेत्र निरूत्साहित हुने कुरातर्फ इप्पान नेपाल सरकारका गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,’ उसले भनेको छ, ‘सरकारले तत्काल छुटै सुरक्षा संयन्त्र निर्माण गरोस् ।’

राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत् आयोजनाहरूमा सुरक्षाको प्रत्याभूति गराउन र घटनाको निष्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्न एवं आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गर्न पनि इप्पानले माग गरेको छ ।


Author

थप समाचार
x