ऊर्जा

इप्पानको अध्यक्षमा इन्जिनियर किरण मल्लको उम्मेदवारी उद्घोष

पाँच बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

इकागज |
जेठ २१, २०८० आइतवार १९:१८ बजे

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी कार्यकालका लागि जलविद्युत् प्रवर्द्धक तथा जलविद्युत् निर्माण व्यवसायी इन्जिनियर किरण मल्लले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

‘परिवर्तनका लागि नयाँ नेतृत्व’ नारासहित उनले आगामी जेठ ३२ गते हुने कार्य समितिको चुनावका लागि आफ्नो उम्मेदवारीसँगै प्रतिबद्धताहरू पनि सार्वजनिक गरेका छन् ।


युनियन हाइड्रोपावर लि.का कार्यकारी अध्यक्ष भई मिदिम खोला जलविद्युत् आयोजना सम्पन्न गरेका मल्लले आफ्नो प्रतिबद्धता पत्रमा इप्पान, सरकार, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित मुद्दाहरूलाई कसरी समाधान गर्ने उल्लेख गरेका छन् । उनले व्यावसायिक मर्यादालाई कायम राख्दै आगामी कार्यकालका लागि आफू निर्वाचित भएमा आफूले गर्ने कामहरूको लिखित प्रतिबद्धता जनाएको बताए । उनले आफूलाई विजयी बनाई इप्पानको संस्थागत विकास, सुशासन एवं सम्पूर्ण ऊर्जा उद्यमीहरूको व्यावसायिक प्रगतिका लागि अपिल पनि गरेका छन् ।

इन्जिनियर मल्लको प्रतिबद्धता पत्र यस्तो छ:

आदरणीय इप्पानका अग्रज तथा मतदाताहरू,
सबै ऊर्जा उत्पादक कम्पनीहरू स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)लाई सबैको साझा संस्था बनाउने मेरो प्रतिबद्धता हो । हामीले इप्पानको माध्यमबाट जलविद्युत् आयोजनाका समस्याहरूलाई अध्ययन परामर्श र छलफलबाट समाधान गर्नेछौं । इप्पानलाई सबैको साझा संस्था बनाउन आम रूपमा पुनरसंरचना गरी व्यापक छलफल मार्फत साधारण सभाबाट एक चुस्त व्यावसायिक हकहितको निम्ति वकालत गर्ने संस्थाका रूपमा स्थापित गर्नेछौ । 

क. इप्पानसँग सम्बन्धितः
१. इप्पानलाई ऊर्जा उत्पादकहरूको साझा छाता संस्थाका रूपमा विकास गर्न सम्पूर्ण ऊर्जा उद्यमीहरूलाई इप्पानमा आवद्ध गरी, व्यावसायिक एकता सुदृढ र  बलियो बनाई संस्थालाई प्रभावकारी रूपले अगाडि बढाउन ऊर्जा क्षेत्रका सबै प्रवर्द्धक कम्पनीहरूलाई इप्पानको सदस्य बनाउने अभियान सञ्चालन गर्ने ।
२. इप्पानमा आबद्ध सबै ऊर्जा प्रवर्द्धक कम्पनीहरूका समस्या तथा गुनासा सुन्न संस्थाको कार्यालयमा हेल्पडेस्कको स्थापना गरी समाधानको पहल गर्ने । सदस्यहरूका समस्या समाधानमा गरेको प्रयास र प्रगतिको समीक्षा गर्न त्रैमासिक रूपमा साधारण सदस्यहरूका बीच समीक्षा वैठकहरूको आयोजना गर्ने । सदस्यहरूका बीचमा आयोजना निर्माणसम्बन्धी अनुभव साटासाटको कार्यक्रम गर्ने ।
३. संस्थाको कामलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार कार्य समिति सदस्य, सल्लाहकार, साधारण सदस्य, जलश्रोत, ऊर्जा, इन्जिनियरिङ, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, वातावरण लगायतका आवश्यक क्षेत्रका विज्ञलाई समेटेर विभिन्न समिति तथा उपसमितिहरू बनाई व्यवस्थित सचिवालय निर्माण गर्ने । 
४. संस्थाका सदस्यहरूको क्षमता अभिवृद्धि गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने र संस्थाको तर्फबाट सहभागी गर्ने गराउने । 
५. ऊर्जा क्षेत्रमा भैरहेका प्रशासनिक कार्य, नियम, कानुन, आयोजना निर्माण, डिजाइन आदि विषयमा अध्ययन अनुसन्धान गरी निष्कर्षहरू प्रकाशन गर्ने र कार्यान्वनका लागि सम्बन्धित निकायसँग समन्वय गरी ऊर्जा क्षेत्रमा लगानी मैत्री वातावरण सिर्जना गर्ने । 
६. इप्पानको कार्यालयलाई मिडिया मैत्री बनाउँदै जलश्रोत तथा ऊर्जाका क्षेत्रमा कृयाशिल पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न सञ्चारकर्मीहरूसँगको समन्वयमा तालिम तथा सम्मेलनको आयोजना गर्ने । 
७. इप्पानको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ३ वर्ष भित्र संस्थाको आफ्नै भवन निर्माण वा खरिद गर्ने ।  
८. हालको संस्थाको एनजीओ स्वरूपलाई परिवर्तन गर्ने । इप्पानलाई राष्ट्रिय स्वरूपमा व्यावसायिक संगठनका रूपमा कार्य गर्ने सक्ने गरि राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता गर्ने । संघीय र क्षेत्रगत रूपमा समेत संस्थाका गतिविधि संचालन र संस्थागत रूपमा प्रतिनिधित्व समेत रहने गरी कार्य गर्न आवश्यक छलफल र दर्ता प्रक्रिया अगाडि बढाउने । 

ख). सरकारसँग सम्बन्धित,
१. विद्युत् उत्पादनसँग प्रत्यक्ष सरोकारवाला सरकारी निकायहरू, ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणसँगको सम्बन्धलाई संस्थागत र व्यावसायिक सम्बन्धमा रूपान्तरण गर्दै १० वर्षमा १५ हजार मेगावाट ऊर्जा उत्पादनको सरकारी लक्ष्यमा हातेमालो गर्ने । 
२. विद्युत् उत्पादनसँग अप्रत्यक्ष सम्बन्ध राख्ने वन तथा वातावरण मन्त्रालय, भूमिसुधार, अर्थ, रक्षा, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सम्बन्धित स्थानीय निकायहरूसँग संस्थागत सम्बन्ध विकास गर्ने र ऊर्जा उत्पादनसम्बन्धी नीति निर्माणमा सहजीकरण तथा समन्वयको भूमिका निर्वाह गर्ने ।
३. ऊर्जा उत्पादनसँग सरोकारवाला निकायहरूले गठन गर्ने विभिन्न आयोग, संचालक समितिहरू तथा लगानी प्रवर्द्धन बोर्ड र विद्युत् प्राधिकरणमा हालसम्म इप्पानको तर्फबाट कुनै प्रतिनिधित्व नभएकोले सो प्रतिनिधित्व सुनिश्चितताका लागि पहल गर्ने । 
४. सरकारले घोषणा गरेको ‘राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणा पत्र, २०७२’  मा उल्लेख गरेको सुविधाहरू र ‘नेपाल सरकारको बजेट वक्तव्य आ.व. २०७१/७२’ मा घोषणा भए बमोजिमको एकमुष्ट अनुदान वापतको रकम नियमित भुक्तानी गर्ने गराउने व्यवस्थाका लागि आवश्यक गृहकार्य गरी ठोस कदम चाल्ने । 
५. नेपाल राष्ट्र बैंकको मूल्यवृद्धिको अनुपातलाई आधार मानी  विद्युत खरिद बिक्री दर समायोजन गर्न आवश्यक गृहकार्य गर्ने र पुराना विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) मा भएको विद्युत् खरिद दरलाई कम्तीमा पोस्टेड रेट कायम गर्न आवश्यक गृहकार्य गरी ठोस कदम चाल्ने । 
६. संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गरी जलविद्युत आयोजनाको पहिचान, अध्ययन,  विकास तथा निर्माण र सञ्चालनका लागि एकद्वार नीति निर्माणका लागि पहल गर्ने । 
७. विद्युत् क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन विद्युत् आयोजना निर्माण तथा सञ्चालन लागि सहज खालका ऐन, नीति र नियम बनाउन आवश्यक गृहकार्य गरी विद्युत् उत्पादनको अनुमतिपत्र ५० वर्ष कायम गर्न पहल गर्ने ।
८. ने.वि.प्रा. र सरकारका नीतिगत कमजोरीका कारण, कमजोर वित्तीय अवस्थामा रहेका आयोजनाहरूको उत्थान गर्न दबाबमूलक कार्यक्रम गर्ने ।
९.जलविद्युत आयोजनाहरूको स्वामित्व हस्तान्तरण, शेयर खरिद बिक्री, पुँजी वृद्धिका लागि अनुमति पत्रको सर्तमा उल्लंघन गरेको भनी प्रवर्द्धकलाई अत्यधिक जरिवाना भइरहेकोले सो हटाउन सम्बन्धित निकायमा पहल गर्ने ।  
१०. निजी जलविद्युत् प्रवर्द्धकहरूले प्रवर्द्धन गरेका जलविद्युत आयोजना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने कानुनी व्यवस्था भएता पनि सो कार्यान्वयनमा नआएको कारणले नेपाल सरकारका आयोजनासरह अधिग्रहण र जग्गा लिज (भाडा) मा लिने व्यवस्थाका लागि पहल गर्ने ।  
११. विद्युत् ऊर्जाको आन्तरिक खपत एवं बजार विस्तारका लागि वितरण लाइनको सुधार, विद्युतको परिप्रयोग, विद्युतीय सवारी साधनको उपयोगमा विस्तार गर्ने नीति निर्माणका लागि नेपाल सरकारसँग हातेमालो गर्ने ।
१२. विद्युतको  समुचित प्रयोग र व्यापारका लागि विद्युत् व्यापारमा निजी क्षेत्रको संलग्नताका लागि आवश्यक कानुनी तथा व्यावसायिक संरचनाका लागि पहल गर्ने । 
१३. आर्थिक रूपले संकट ग्रस्त जलविद्युत् आयोजनाहरूको वित्तीय स्वास्थ्य सुधार गर्न नियमाकीय संघसंस्थाहरूसँग सहकार्य गरी आवश्यक कानुनी तथा व्यावसायिक व्यवस्थाहरू निमार्ण गर्ने । 
१४. विद्युत् उत्पादनसँगै प्रसारण र वितरणको क्षेत्रमा पनि निजी क्षेत्रको संलग्नताका लागि आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था गर्न नियमकीय निकायहरूसँग समन्वय गर्ने । 

ग). ने.वि.प्रा. सँग सम्बन्धित,
१. २०७१ चैत्र मसान्त भित्र सम्पन्न आयोजनाहरूलाई दिने निर्णय भएको पोष्टेड रेट अनुसारको भुक्तानी रकम मासिक रूपमा बिलमा समायोजन गराउन पहल गर्ने । 
२. नेपाल विद्युत् प्राधिकरणले सम्झौता अनुसार निर्माण गर्नुपर्ने विद्युत् प्रसारण लाइन समयमा सम्पन्न नगरिएका कारणले निजी क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादन हुन नसकेको विद्युतको रकम भुक्तानीका लागि पहल गर्ने र असमान सम्झौताहरू अध्ययन गरी संशोधनका लागि प्रशासनिक तथा कानुनी कदमहरू अगाडि बढाउने ।
३. निजी क्षेत्रका १० मे.वा. भन्दा कम क्षमताका जलविद्युत आयोजनाहरूका लागि ‘राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास सम्बन्धी अवधारणा पत्र, २०७२’ मा उल्लेख भए बमोजिम हालसम्मका हर्जाना फिर्ता गर्न गराउन आवश्यक कदम अगाडि बढाउने । 
४.विद्युत खरिद बिक्री सम्झौतामा उल्लेख भए अनुसार ने.वि.प्रा.को कारणले प्रसारण आउटेज हुँदा उत्पादनमा भएको क्षतिबापतको रकम मासिक बिलमा समायोजन गर्न ठोस कदम चाल्ने ।  
५. हाल भइरहेको निजी उत्पादकहरूको विद्युत् प्रसारणमा भएका समस्याहरूलाई दृष्टिगत गरी ३३ केभी लाइन तथा सवस्टेशनहरूको स्तरोन्नति एवं क्षमता वृद्धिका लागि आवश्यक बजेट व्यवस्थापन गर्न दबाब दिने ।
६. विद्युत् खरिद बिक्री सम्झौता गर्दा ‘टेकर अर पे’  को व्यवस्था कायम गर्न र विद्युत् खरिद बिक्री सम्झौतामा उल्लेख भएको ‘टेक अर पे’ को व्यवस्थालाई अक्षरंशः लागू गर्न दबाब दिने । 

घ) बैंक, वित्त तथा बिमासम्बन्धी,
१. राष्ट्र बैंक तथा अर्थ मन्त्रालयसँग आवश्यक छलफल गरी बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कुल ऋण प्रवाहको न्यूनतम् १५ प्रतिशत ऊर्जा क्षेत्रमा अनिवार्य लगानी  गर्ने व्यवस्थालाई निरन्तरता दिन दबाबमूलक कार्यक्रम गर्ने । 
२.राष्ट्र बैंक तथा अर्थ मन्त्रालयसँग आवश्यक छलफल गरी नेपालको हरित ऊर्जाको विकासका लागि विशेष ऋण/ अनुदानको व्यवस्था गरी यस क्षेत्रको ब्याज दर ५ देखि ८ प्रतिशतमा कायम गर्न पहल गर्ने ।
३.विदेशी वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय पूँजी लगानी गर्ने संघसंस्थाहरूबाट हरित ऊर्जामा सहुलियतपूर्ण ब्याजमा ऋण लगानी तथा शेयर पुँजी भित्र्याउने नीतिगत व्यवस्था गर्न सरकारसँग सहकार्य गरी सञ्चालनमा रहेको र नयाँ आयोजना निर्माणका लागि लगानी भित्र्याउन पहल गर्ने ।
४.निर्माण तथा सञ्चालनमा रहेका विद्युत् आयोजनाहरूका लागि वीमा कम्पनी तथा पुनर्बिमा कम्पनीबाट सहुलियत मूल्यमा अधिकतम सेवा पाउनको बिमा समिति र बिमा कम्पनीहरूसँग आवश्यक छलफल गर्ने ।
५.नेपाल धितोपत्र बोर्डबाट शेयर निस्कासनका लागि रहेका अप्ठ्याराहरूको समाधानको पहल गर्ने । 
६. आयोजना निर्माण सम्पन्न भएपश्चात् आयोजना बैंक तथा वित्तीय संस्थाले निर्माणका लागि करार सम्झौता गर्दा लिइएको व्यक्तिगत जमानत स्वतः फिर्ता हुने व्यवस्थाका लागि गृहकार्य गर्ने ।

(ङ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी:
१.ऊर्जा क्षेत्रमा लगानी मैत्री वातावरण तयार गर्न तथा ऊर्जा क्षेत्रमा भित्रिएका आधुनिक प्रविधिको प्रवर्द्धन गर्न, स्वच्च ऊर्जा उपभोगमा वृद्धि गर्न सरकारी निकायको नेतृत्वमा ऊर्जा सम्मेलन र ऊर्जा प्रर्दशनीहरूको आयोजना गर्ने । यस्ता सम्मेलनमार्फत ऊर्जा क्षेत्रको विकासमा देखिएका समस्याहरू पहिचान र ऊर्जा क्षेत्रमा लगानीको वातावरण तयार गर्न आवश्यक नीति तथा कार्यक्रमहरूको अध्ययन गरी समग्र देशको ऊर्जा क्षेत्रलाई आत्मनिर्भर बनाउन सरकारसँग हातेमालो गर्ने । 
२.सदस्यहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सेमिनार, गोष्ठी, सम्मेलन र प्रदर्शनीहरूमा सहभागी गराई व्यावसायिक हिसावमा सबल र सक्षम बनाउने ।
३. छिमेकी मुलुकहरूसँग विद्युत् व्यापार तथा विद्युत् आदान प्रदानका लागि अध्ययन गरी निजी क्षेत्रको संलग्नताका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने । 
४. व्यावसायिक हितका लागि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श जस्ता व्यावसायिक संस्थाहरूसँग संस्थागत सम्बन्ध विकास गरी सहकार्य गर्ने । 
५. पेशागत संस्थाहरू जस्तै नेपाल इन्जिनियरिङ एसोसिएसन, नेपाल टनेलीङ्ग एसोसिएसन, नेपाल पत्रकार महासंघ, लगायतका संस्थाहरूसँग संस्थागत सम्बन्ध विकास गरी छलफल र अन्तरक्रिया कार्यक्रमहरू गर्ने । 
६. संसदमा मान्यता प्राप्त राजनीतिक दलसँग नेपालमा ऊर्जा विकासको अवस्था, संभावना र लगानी मैत्री नीति निर्माणका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने ।
इन्जिनियर किरण मल्लबाट संस्थालाई प्रभावकारी तथा गतिशील रूपमा अगाडि बढाउन यहाँहरूको अमूल्य सल्लाह, सुझाव नै हाम्रो मार्गदर्शन हुने प्रतिवद्धता व्यक्त गर्दछु । आफ्नो अमूल्य मतदान गरेर निर्वाचित गराउनु हुन सम्पूर्ण सदस्य महानुभावहरूमा हार्दिक अपिल गर्दछु  ।  
                                                                           धन्यवाद !
  किरण मल्ल
अध्यक्षको उमेदवार


Author

थप समाचार
x