ऊर्जा

९३ प्रतिशत नेपालीका घरमा पुग्यो बिजुली

इकागज |
जेठ १४, २०७८ शुक्रवार १९:४९ बजे

काठमाडौँ ः नेपालमा बिजुली उपभोग गर्ने जनसंख्या ९३ प्रतिशत पुगेको छ । गत वर्षको असार मसान्तसम्म ९० प्रतिशत नेपालीका घरमा बिजुली पुगेको थियो ।शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण (२०७७/७८) ले कूल विद्युत् पुगेको जनसंख्यामध्ये ३ प्रतिशत वैकल्पिक ऊर्जाको योगदान रहेको देखाएको छ ।

विद्युतीकरण


चालू आर्थिक वर्षको फागुन सम्म विद्युत् उपभोग गर्ने ग्राहकको संख्या १०.९७ ले वृद्धि भएको आर्थिक सर्वेक्षणमा छ । यसअनुसार सामुदायिक विद्युत् उपभोक्ताबाहेक मुलुकका ४९ लाख ९३ हजार ग्राहकले बिजुली सेवा पाएका छन् । गत असार मसान्तसम्म यस्तो ग्राहक संख्या ४५ लाख थियो ।

सबैभन्दा अधिक विद्युत् पहुँच पुगेको प्रदेश नं. २ हो । आर्थिक सर्वेक्षणअनुसार प्रदेश नं. २ मा गत फागुन मसान्तसम्म ९९ दशमलब ०५ प्रतिशत जनसंख्याका लागि विद्युतीकरण भएको छ । त्यसपछि बागमती प्रदेशमा ९४ दशमलब ४४ प्रतिशत विद्युत् पहुँच छ । गण्डकी प्रदेश धेरै विद्युतीकरण हुने प्रदेशमा तेस्रो नम्बरमा आएको छ । गण्डकीमा ९२ दशलमब ७९ प्रतिशत जनसंख्यामा बिजुली पुगेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश पनि विद्युत पहुँच पुगेको अग्रमध्येमा पर्छ । लुम्बिनीमा ९१ प्रतिशत विद्युत् पहुँच रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । त्यस्तै प्रदेश नं. १ मा ८२ दशमलब ४३ प्रतिशत,  र सुदुर पश्चिममा ६४ दशमलब ६९ प्रतिशत विद्युत् पहुँच छ । जलविद्युत् उत्पादनका दृष्टिले सबैभन्दा बढी क्षमता भएको कर्णालीमा भने भौगोलिक विकटताका कारण ३४ दशमलब ७५ प्रतिशत जनसंख्याले मात्र बिजुली पाएका छन् । 

विद्युत् उत्पादन 

आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय ग्रीडमा जडित कूल विद्युत् २०७७ असारसम्मको १४०१ मेगावाटको तुलनामा ४.१ प्रतिशतले वृद्धि भई गत फागुन मसान्तसम्म १४५८ मेगावाट पुगेको छ । कूल विद्युतमध्ये जलविद्युतबाट १२९९ मेगावाट, सौर्य ऊर्जाबाट ३०.१४ मेगावाट, तापीय ऊर्जाबाट ५३.४ मेगावाट र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ७२ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधितर्फको ३ मेगावाट उत्पादन भएको छ । 

यसैगरी गत फागुन मसान्तसम्म विद्युत् प्राधिकरणबाट सञ्चालित परियोजनाबाट ६४५ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित परियोजनाबाट ७४२.४५ मेगावाट राष्ट्रिय ग्रीडमा जडान भएको सर्वेक्षणमा छ । 

प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी विद्युत् गण्डकीमा उत्पादन भएको छ । गत फागुन मसान्तसम्म गण्डकीबाट ५२७ मेगावाट उत्पादन भएको छ । गण्डकीपछि बागमती प्रदेशमा ४७१ मेगावाट र प्रदेश नं. १ बाट २८० मेगावाट उत्पादन भएको तथ्यांक छ । सबैभन्दा बढी विद्युत् उत्पादन हुने सम्भावना भएको कणालीबाट भने अहिलेसम्म ११ मेगावाट मात्र उत्पादन भएको छ ।

जलविद्युतको सम्भावना नरहेको प्रदेश नं. २ मा चिनी मिल र सौर्य ऊर्जा गरी १३ मेगावाट उत्पादन भएको छ । कर्णालीपछि सबैभन्दा कम विद्युत् उत्पादन हुनेमा लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनीमा ३१ मेगावाट जलविद्युत् उत्पादन भएको छ । जलविद्युत सम्भावना रहेको सुदूर पश्चिममा पनि जम्मा ५२ मेगावाट उत्पादन भएको छ । 

सरकारको खासै प्राथमिकतामा नपरेको वैकल्पिक ऊर्जाबाट गत फागुन मसान्तसम्म ५७ मेगावाट जलविद्युत् उत्पादन थप भई कूल जलविद्युत् उत्पादन क्षमता १३८६ मेगावाट भएको आर्थिक सर्वेक्षणमा छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म निजी क्षेत्रका नौ वटा प्रवर्द्धक कम्पनीले ५६.८७७ मेगावाट विद्युत् उत्पादन गरेका छन् ।

विद्युत् आयात

लोडसेडिङ अन्त्य भएको गौरव गरेको सरकारले भारतबाट गत फागुन मसान्तसम्म एक अर्ब ८८ करोड ९४ लाख युनिट बिजुली आयात गरेको छ । गत असार मसान्तमा भारतबाट एक अर्ब ७२ करोड ९० लाख युनिट बिजुली आयात भएको थियो । गत फागुनसम्म तीन करोड ३८ लाख ५० हजार युनिट विद्युत् भारत निर्यात भएको छ । यो वर्ष भारत निर्यात हुने बिजुलीमा उल्लेखनीय कमी देखिएको छ । गत असार मसान्तसम्म प्राधिकरणले १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो । 

सम्पन्‍न प्रसारण लाइन विस्तार

चालू आवको फागुन मसान्तसम्म नौवटा आयोजनाको ८६५ सर्किट किलोमिटरमध्ये ३०३.१ सर्किट किलोमिटर निर्माण कार्य सम्पन्न भएका छन् । यसमध्ये २२० केभीका कालीगण्डकी, मर्स्याङ्दी-काठमाडौं, कोसी कोरिडर, भरतपुर-बर्दघाटलाई सर्वेक्षणले ‘सम्पन्‍न भएको सूची’ मा राखेको छ । त्यसैगरी १३२ केभीका सोलु कोरिडर, नयाँ मोदी-लेखनाथ, समुद्रटार-त्रिशुली, दोर्दी कोरिडर र सिंगटी-लामोसाँघु प्रसारण लाइन विस्तार कार्य सम्पन्न भएको सरकारले जनाएको छ । 


Author

थप समाचार
x