ऊर्जा

लघु जलविद्युतलाई ग्रीडमा जोड्न ध्यानाकर्षण

इकागज |
जेठ २०, २०७८ बिहीबार १८:२२ बजे

काठमाडौँ : ऊर्जा मन्त्रालयले ग्रीड कनेक्ट (राष्ट्रिय प्रसारण लाइनमा जोड्ने) सम्बन्धी कार्यविधिमा लघु जलविद्युतलाई छुटाएकोप्रति नेपाल लघु जलविद्युत् विकास संस्थाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

संस्थाले आज बिहीबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई उक्त कार्यविधिमा ‘लघुजलविद्युत्’ लाई ग्रीडमा जोड्नेसम्बन्धी उल्लेख नभएकाले ध्यानाकर्षण पत्र दिएको हो । मन्त्रालयले गत वैशाख १३ गते ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८’ जारी गरेको थियो । उक्त कार्यविधिको दफा २(ट) मा वैकल्पिक विद्युत्को परिभाषामा लघुजलविद्युत् पनि उल्लेख हुनुपर्नेमा सो नभएको संस्थाले जनाएको छ । 


सोही कार्यविधिमा लघु जलविद्युतलाई ग्रीडमा जडान गर्नेसम्बन्धी कुरा उल्लेख नभएको, लघु जलविद्युतलाई ग्रीडमा जडान गर्न नेपाल विद्युत् प्राधिकरणको साना तथा ठूला जलविद्युत्लाई जडान गर्दा अपनाउनुपर्ने सबै प्रक्रियाले गर्दा लघु जलविद्युतलाई ग्रीडमा जडान गर्न धेरै कठिन भएको पनि पत्रमा स्मरण गराइएको छ ।

‘लघु जलविद्युतलाई ग्रीडमा जडान गर्न छिटो तथा सजिलो कार्यविधि नभएकोले यो कार्यविधिमा लघु जलविद्युतलाई समेत समावेश गरी ग्रीड कनेक्सनमा सहज प्रक्रिया तथा सरलीकरणकोलागि आवश्यक पहल गरिदिनु हुन अनुरोध छ,’ पत्रमा छ ।  


Author

थप समाचार
x