ऊर्जा

कालीगण्डकीभन्दा खिम्तीको आम्दानी बढी

६० मेगावाटको खिम्तीले एक वर्षमा पाँच अर्ब कमाउँछ

इकागज |
असार २, २०७८ बुधबार ८:५ बजे

काठमाडौँ : देशकै सबैभन्दा ठूलो जलविद्युत् गृह कालीगण्डकी ‘ए’ (१४४ मेगावाट) हो । यो विद्युत् गृहले वर्षको बिक्री योग्य बिजुली ८६ करोड युनिट उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनलाई दिन्छ । यसबाट वर्षको चार अर्ब  ७० करोड रुपैयाँ आम्दानी हुन्छ ।


तर जडित क्षमतामा कालीगण्डकी ‘ए’ को तुलनामा आधा भन्दा कम क्षमता भएको खिम्ती (६० मेगावाट) ले वर्षको बिक्रीयोग्य बिजुली ३५ करोड ३१ लाख युनिट उत्पादन गर्छ । तर यो खिम्तीले नेपाल विद्युत् प्राधिकरणबाट कालीगण्डकीले कमाउने भन्दा धेरै अर्थात् वर्षको झन्डै पाँच अर्ब रुपैयाँ प्राधिकरणबाट लैजान्छ । 

विद्युत् विकास विभागका अनुसार कालीगण्डकी एको बिजुलीको औसत बिक्री दर प्रतियुनिट पाँच रुपैयाँ ४० पैसा परेको छ भने खिम्तीले एक युनिट बिजुलीलाई प्राधिकरणले १४ रुपैयाँ १३ पैसा तिर्दै आएको छ । जबकि प्राधिकरणको आफ्नो औसत बिक्रीदर प्रतियुनिट १० रुपैयाँ छ । 

प्राधिकरणको र देशकै दोस्रो ठूलो मध्य मर्स्याङ्‌दी (७०.२ मेगावाट) ले गत आव २०७६/७७ मा ४४ करोड ६९ लाख युनिट बिजुली उत्पादन गर्‍यो । मध्य मर्स्याङ्‌दीको खातामा त्यो वर्ष बिजुली बेचेबापत २ अर्ब ४१ करोड रुपैयाँको हिसाब देखियो । मध्य मर्स्याङ्‌दीको भन्दा झन्डै आधा कम क्षमताको निजी क्षेत्रको भोटेकोसी (४५ मेगावाट) ले २०७६ पुसदेखि पुनः व्यापारिक उत्पादन गरी उक्त आर्थिक वर्षको सात महिनाको अवधिमा १० करोड ९९ लाख युनिट बिजुली बेच्यो । त्यसबापत उसले प्राधिकरणसँग एक अर्ब २८ करोड ८५ लाख रुपैयाँ आम्दानी गर्‍यो ।

अब अमेरिकी डलरमै भुक्तानी गर्नुपर्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) भएको चिनियाँ लगानीको माथिल्लो मर्स्याङ्‌दी ए (५० मेगावाट) ले कति पैसा कमाउँदो रहेछ हेरौं । आर्थिक वर्ष २०७६/७७ मा यो आयोजनाले ३६ करोड ६१ लाख युनिट बिजुली उत्पादन गर्‍यो । यति बिजुली बेचेबापत चिनियाँ कम्पनी सिनो हाइड्रोले प्राधिकरणसँग ३ अर्ब २१ करोड ५३ लाख रुपैयाँ असुल्यो । यसको बिजुली लागत प्रतियुनिट ८ रुपैयाँभन्दा बढी परेको विभागले सार्वजनिक गरेको तथ्यांकमा छ ।

 

अब अर्को तथ्यांक हेरौं, यो पनि अमेरिकी डलरवाला आयोजना हो । भोटेकोसीको वार्षिक उत्पादन क्षमता २४ करोड ६० लाख युनिट हो । यतिखेर भोटेकोसीको एक युनिट बिजुलीलाई प्राधिकरणले ११ रुपैया ७२ पैसा पर्छ । वार्षिक मूल्य वृद्धि दर र अमेरिकी उपभोक्ता मूल्य सूचांकका आधारमा वृद्धि हुनेबाहेक यो दरमा भोटेकोसीले वर्षको २ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ प्राधिकरणबाट लैजान्छ । 

गैरडरलवाला पीपीए भएका खाँटी नेपालीले निर्माण गरेका आयोजनाको आम्दानी हेरौं । १० मेगावाटको तल्लो मोदी १ आयोजनाले उक्त वर्ष ५ करोड १७ लाख युनिट उत्पादन गर्‍यो । यसबापत यो नेपाली कम्पनीले २८ करोड ३४ लाख रुपैयाँ कमायो । यसको बिजुली लागत प्रतियुनिट पाँच रुपैयाँ ४७ पैसा छ । 

यी तथ्यांकबाट के देखिन्छ भने देशमा विदेशी लगानी भित्र्याउने नाममा अमेरिकी डलरमा पीपीए गर्दा आफ्नै देशको पानी फिटेर उत्पादन हुने बिजुली कति महँगो छन् । जबकि नेपाली लगानीकर्ताहरुले विदेशी लगानीकर्ताको एक छेउ पनि सुविधा पाएका छैनन् । माथिका तथ्यांक केलाउने हो भने नेपालको जलविद्युत्‌को अवस्था छर्लंग हुने देखिन्छ । 


Author

थप समाचार
x