मध्य र माथिल्लो मर्स्याङ्दीले भोलिदेखि पुनः उत्पादन गर्ने
बाढीले २०० मेगावाट प्रणालीबाहिर
काठमाडौं : दुई सातादेखि बाढीले प्रसारण लाइनको टावर ढलाएर ठप्प रहेको मस्र्याङ्दी कोरिडर अन्तर्गतका दुई ठूला जलविद्युत् गृहले भोलिदेखि उत्पादन पुनः चालू गर्ने भएका छन् । असारको तेस्रो साता मस्र्याङ्दीमा आएको बाढीले १३२ केभीको प्रसारण लाइन ढालेपछि मध्य मस्र्याङ्दी (६९ मेगावाट) र माथिल्लो मस्र्याङ्दी (५० मेगावाट) को विद्युत् गृह पुनः सञ्चालनमा आउन लागेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको प्रसारण निर्देशनालयका प्रमुख सुरेश भट्टराइले बाढी तथा पहिरोजन्य प्रकोपको चपेटामा परी प्रणालीबाट बाहिरिएको २०० मेगावाटमध्ये ११९ मेगावाट पुनः उत्पादन सुरु हुन लागेको बताए । बाढीले क्षति तुल्याएका बाँकी विद्युत्गृह (८० मेगावाट) को भने अझै दुई महिनासम्म लाग्ने उनले जानकारी दिए । निषेधाज्ञा खुकुलो भएसँगै गर्मी बढेकाले उपत्यकालगायत तराई क्षेत्रमा विद्युत्को माग वृद्धि भई १४ सय देखि १५ सय मेगावाटसम्म पुगेको छ । यसले स्वदेशका मध्यमखाले आयोजना बाढीले बन्द हुँदा भारतबाट आयातको मात्रा पनि बढेको छ ।
भट्टराईका अनुसार अत्यधिक खपतको समय (विशेष गरी साँझपख) भारतबाट कूल चार सयदेखि पाँच सय मेगावाट बिजुली आयात भइरहेको छ । ढल्केबर–मुजफ्फपुर, बिहार र रक्सौलजस्ता प्रमुख नाकाहरुबाट आयात भएको हो । केही आन्तरिक विद्युत्गृह प्रणालीबाट बाहिरिएपछि राष्ट्रको एकमात्र जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रो (कूल १०४ मेगावाट) अत्यधिक सञ्चालन गरिएको भट्टराईले बताए ।
निजी क्षेत्रका विद्युत् गृहहरुले मध्य वर्षायामको यस समयमा पूर्ण क्षमतामा उत्पादन भइरहेको छ । भट्टराईका अनुसार बाढीपहिरोको चपेटामा परेका आयोजनाहरुबाहेक निजी क्षेत्रले जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म विद्युत् उत्पादन गरिरहेका छन् ।
जडित क्षमताका हिसाबले प्राधिकरणको भन्दा निजी क्षेत्रको विद्युत् परिमाण धेरै छ । फागुन मसान्तसम्म निजी क्षेत्रबाट सञ्चालित परियोजनाहरुको जडित क्षमता ७४२.४५ मेगावाट रहेको आर्थिक सर्वेक्षणमा छ । प्राधिकरणको क्षमता भने सोही अवधिसम्म ६४५ मेगावाट छ । जडित क्षमतामा निजी क्षेत्र अग्रणी भए पनि खास समयमा चाहिने बिजुली (पिकिङ) भने निजी क्षेत्रको शून्य छ । प्राधिकरणका अधिकांश आयोजना निश्चित घण्टासम्म जडित क्षमतामा उत्पादन गर्न सक्छन् ।
माथिल्लो तामाकोसीको बिजुली आएपछि आयात घट्ने
यही असार दोस्रो सातादेखि माथिल्लो तामाकोसीले धमाधम आफ्नो परीक्षण उत्पादन गरिरहेको छ । माथिल्लो तामाकोसीमा बिजुली उत्पादन गर्ने ६ वटा युनिट छन् । यी प्रत्येकको क्षमता ७६ मेगावाट छ । दुईवटा युनिटबाट १५२ मेगावाट परीक्षण उत्पादन भइरहेको छ । परीक्षण उत्पादनलाई प्राधिकरणको प्रणाली सञ्चालनले गणना गरेको छैन ।
निर्देशनालय प्रमुख भट्टराईले अबको केही दिनपछि माथिल्लो तामाकोसीको बिजुली पनि ‘ट्रायल अपरेशन’ (प्रणालीमा जोडेर परीक्षण गरिने) मा आउने बताए । अबको एक, डेढ महिनाभित्र तामाकोसीको बिजुली प्रणालीमा स्थायी रुपमा आएपछि भारतीय आयात उल्लेखनीय रुपमा घट्ने उनको भनाइ छ ।
तामाकोसीले विभन्न यन्त्र तथा उपकरण उत्पादकहरुको मापदण्डअनुसार अहिले परीक्षण गरिरहेछ । उक्त मापदण्डको चक्र पूरा गरेपछि तामाकोसीले ‘ट्रायल अपरेशन’ गर्नेछ । हिउँदयाममा न्यू खिम्ती–लामोसाँगु १३२ केभीको प्रसारण लाइनबाट तामाकोसीको ११० मेगावाट बिजुली काठमाडौं आउनेछ । वर्षायाममा भने न्यू खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन हुँदै प्रवाहित हुनेछ । खिम्ती–ढल्केबरले करिब ८०० मेगावाटसम्म बिजुली बोक्न सक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया