ऊर्जा

३३/११ केभीको लाकुरी सवस्टेशन चार्ज

इकागज |
मंसिर १६, २०७७ मंगलबार १७:४४ बजे

सवस्टेसन उद्घाटन गर्दै मन्त्री पुन । तस्विर साैजन्य : ऊर्जा मन्त्रीकाे सचिवालय

रोल्पा : रोल्पाको लाकुरीमा विद्युत प्राधिकरणको ३३/११ केभी सवस्टेशन (उपविश्रामस्थल) चार्ज भएको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका- ३ लाँकुरीमा नवनिर्मित सवस्टेशनको सोमबार उदघाटन गरेसँगै त्यसबाट विद्युत वितरण सुरु भएको छ । 
योसँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत सेवा पाउने भएको ऊर्जामन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ  ।
सवस्टेशन अभावमा यसअघि जिल्लामा पटक-पटक विद्युत सेवा अवरुद्ध हुने गरेको थियो । यसअघि रोल्पामा रहेको ३३ केभीको वितरण प्रणाली नयाँ सवस्टेशन सञ्चालनमा आएसँगै विस्थापित भएको छ । सवस्टेशनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने समस्या थियाो । यसबाट प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत सेवा नियमित उपलब्ध हुने भएको छ । 
भारतको एटू-जेड इन्फ्रा इन्जिनियरिङ र नेपालको त्रिपुरेश्वर-जयदुर्गे जेभीले निर्माण गरेको उक्त सवस्टेशन एसियाली विकास बैंकको १० करोड रुपैयाँको सहयोगमा निर्माण सम्पन्न भएको हो । 
सवस्टेशनबाट रोल्पाका सुनील स्मृति, लुङ्ग्र, सुनछहरी, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत सेवा पाउने मन्त्रालयले जनाएको छ । 
यसअघि रोल्पामा  प्यूठानको झिमरुक सवस्टेशनबाट विद्युत वितरण हुँदै आएको थियो । 
उज्यालो समृद्धिको प्रतीकः मन्त्री 
सवस्टेशन उदघाटन समारोहमा मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भूभागमा विद्युतीकरण गरिसक्ने बताए । उज्यालो समृद्धि र विकासको प्रतीक भएकाले सरकारले उज्यालोलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । ‘उज्यालो समृद्धिको प्रतीक हो, समृद्धिको ढोका हो’, मन्त्री पुनले भने, ‘सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत पुर्‍याउने गरी काम गरिरहेको छ ।’ 
मन्त्री पुनले रोल्पामा बन्न लागेको १ सय ५६ मेगावाटको माडी जलाशययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब सकिएकाले अब छिट्टै निर्माणको प्रक्रिया अघि बढ्ने पनि जानकारी दिए । 
मन्त्री पुनले दुई वर्षभित्र रोल्पाका हरेक गाउँमा विद्युतीकरण हुने गरी काम भइरहेको चर्चा गरे  । आफू मन्त्री हुनुअघि जिल्लामा विद्युतका ८ हजार ५ सय ग्राहक रहेकामा हाल २३ हजार पुगेको भन्दै उनले विद्युतको पर्याप्त उपलब्धता र संचरना विस्तारसँगै यही वर्ष ग्राहक संख्या ३० हजार पुग्ने बताए । 
कार्यक्रममा विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण जनताको घरमा बिजुली पु‍र्‍याउने मात्र नभई विद्युत सेवालाई थप गुणस्तरीय र भरपर्दो बनाउने काममा सक्रिय रहेको बताए । प्राधिकरण विद्युत उत्पादनका साथै वितरण प्रणालीको विस्तार र सुदृढीकरणमा विशेष योजनाका साथ लागिपरेको उनको भनाइ थियो । 
विद्युत अर्थतन्त्रको इन्जिन भएको चर्चा गर्दै शाक्यले लाकुरी सवस्टेशन चार्ज भएसँगै घरेलु र ठूला उद्योग सञ्चालन भई जिल्लामा आर्थिक गतिविधि बढ्ने उल्लेख गरे । 



Author

थप समाचार
x