ऊर्जा

पाडाजुगी-उर्लाबारी प्रसारण लाइन निर्माणमा अवरोध

इकागज |
साउन १२, २०७८ मंगलबार १३:१३ बजे

फाइल फोटो

काठमाडौं : झापाको पाडाजुगीबाट मोरङको उर्लाबारीसम्मको पाडाजुगी-उर्लाबारी प्रसारण लाइन ३३ केभी प्रसारण लाइन निर्माणमा अवरोध भएको छ । उर्लाबारी नगरपालिका वडा नं ८ स्थित अठियाबारीका बासिन्दाले अहिले बत्ती बाल्नका लागि लाइन हुँदाहुँदै अर्को लाइन किन तानेको भन्दै निर्माणमा अवरोध गरेका हुन् । 

पाडाजुगी–उर्लाबारी प्रसारण लाइनको लम्बाइ १६ किलोमिटर छ । आन्दोलनरत पक्षले लाइन नै तान्न नदिने अडान लिएका कारण त्यस क्षेत्रमा ३ सय मिटर लाइन तान्न सकिएको छैन । यसले उर्लाबारीमा निर्माण गरिएको ३३÷११ केभी सबस्टेसन सञ्चालनमा ल्याई विद्युत आपूर्ति हुन सकेको छैन । 


नगर प्रमुख, उपप्रमुख, आन्दोलनकारीलगायतका सरोकारबालासँगको केही दिनअघि छलफल गरी निर्माण सुरु गर्ने विषयमा सहमति भएको थियो । तर, केही व्यक्तिले असहमति जनाउँदै निर्माणमा पुन: अवरोध गरेका हुन् । मोरङको उर्लाबारी, रतुवामाई पथरी शनिश्चरे नगरपालिका क्षेत्रका बासिन्दाले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । 

एसियाली विकास बैकको ऋणमा वितरण प्रणाली सुदृढीकरण तथा विस्तार अन्तर्गत सञ्चालित आयोजनाको निर्माण सम्पन्न भएपछि  त्यस भेगका करिब ३ लाख उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत उपभोग गर्न पाउने छन् । हाल उक्त स्थानमा झापाको दमकबाट २ वटा ११ कभी फिडर लाइनमार्फत विद्युत आपूर्ति गरिएको छ । 

लाइनको लम्बाइ अत्याधिक भएकोले सामान्य अवस्थामा समेत विद्युत आपूर्तिमा समस्या आउने गरेको छ भने फिडर लाइनको ओभरलोड र ट्रिपिङको समस्या अत्याधिक छ । 

 

 
 


Author

थप समाचार
x