ऊर्जा

कमला नदीको कटान निरीक्षणपछि ऊर्जामन्त्री भुसाल भन्छिन्:

‘नदी कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनुपर्छ’

इकागज |
साउन १५, २०७८ शुक्रबार १०:१८ बजे

फाइल फोटो

धनुषा : निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गइ धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराए । त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देश मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाइन् । विभागको आपतकालिन कोषबाट रु ५० निकासा गरी नदीको कटान रोक्न निर्देशन समेत दिइन् । तत्काल काम शुरु भयो । तर निरन्तर कटान नरोकिएको खबर आएसँगै मन्त्री भुसालले बिहीबार स्थलगत निरीक्षण गरेकी छन् । 

मन्त्रालयको सिँचाइ सचिव मणीराम गेलाल र विभागको महानिर्देशक राजभण्डारीसहित धनुषाको सबैला नगरको ढोलबज्जा पुगेका निरीक्षणपछि उनले पहाडमा भूक्षय गएको र त्यहाँबाट बगेर आएको गेग्रान थुप्रिँदा जमीनको सतह माथि उठेको बताइन् । मन्त्री भुसालले तत्काल ‘अन द स्पट’ आपतकालिनरूपमा कटान रोक्ने तर दीर्घकालिन समाधानका लागि सिन्धुली, धनुषा र सिरहा जिल्लालाई ध्यान दिएर गुरु योजना बनाउने बताइन् ।


विसं २०१९ सालमा भारतीय सरकारको सहयोगमा बनाइएको तटबन्ध पछिल्ला वर्षमा कमला नदीले कटान गर्दा किरतपुरका जनता निधाउन पाउँदैनन् । किरतपुरमा २०० मिटरभन्दा बढी क्षेत्र नदीले कटान गरेको छ भने त्यसकै तल पठेर्वामा १५० मिटर क्षेत्र कटान गरेको छ । ती क्षेत्रमा आपतकालिन कोषबाट बाँस तथा फलामका खम्बा गाडेर माटोका बोराले अस्थायी तटबन्ध बनाएर कमलाको कटान रोक्ने प्रयास भइरहेको छ ।

निरीक्षणकै क्रममा सरकारले मर्मत सम्हारका लागि बजेटसमेत काटेको भन्दै स्थानीयले गुनासो गरेपछि मन्त्री भुसालले भनिन्, “पहिलो चरणमा मेलै आपतकालिन मर्मतका लागि रु ५० लाख पठाएको थिए, थप २० लाख पनि यो कटान नियन्त्रणका लागि निकासा गरेको छु ।” कमलाले  वर्षेनि दुःख दिने गरेकाले दीर्घकालिन समाधानका उपाय खोजिने उहाँले बताउनुभयो । मन्त्री भुसालले भनिन्, “कटान नियन्त्रणका लागि टालटुल गरेर हुँदैन, सङ्घकै योजनामा राखेर दीर्घकालिन समाधान खोज्नुपर्छ ।” उनले प्राविधिक र वित्तीय दुबै तवरले कमलाको कटान रोक्न गुरुयोजना बनाएर नदीको वारीपारी राम्रो बाँध, करिडोर, बृक्षारोपण गर्ने गर्ने सोच बनाइने बताइन् । नदी कटान रोकेर जमीन उकास हुने र त्यो जग्गालाई भूमीहिनलाई दिने उनको भनाइ छ । 

कटान निरीक्षणपछि ऊर्जा सचिव गेलालले भारतको सहयोगमा बनाइएको तटबन्ध निरन्तर कटाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्रमार्फत भारतको सबन्धित निकायलाई जानकारी गराएको बताइन् । नदी कटान निरन्तर बढ्दै गए नेपालका मात्र भारतका बस्तीलाई जोखिममा पर्नेछ । आव २०७४÷७५ सम्म कमला नदी नियन्त्रण आयोजनालाई भारतले सहयोग गर्दै आएको थियो । पछिल्लो समय आपतकालिन कार्यका लागि बजेट नहुँदा सम्भावित क्षति न्यूनीकरण प्रभावित हुँदै आएको छ । 

आयोजनाका प्रमुख एकराज भट्टराईले कमला नदीको कटान नियन्त्रणको पहलका आर्थिक स्रोत कमी भएको बताए । आयोजनाले कटान नियन्त्रण प्रयासबारे जानकारी गराउँदै १०० जना सुरक्षाकर्मी तीन दिनसम्म काम गरेको र केही नियन्त्रण गर्न सफल भएको बताए । कटान नियन्त्रण जारी छ । 

निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादवले विसं २०१९ मा भारतको सहयोगमा तटबन्ध निर्माण भएको र त्यसपछि कटान भएमात्र हेर्ने गरेकाले वर्षातको बाढीपछि समस्या हुँदै आएको बताए । उनले आपतकालिन कोषबाट प्राप्त ७० लाखले तत्काल नियन्त्रण गर्ने र दीर्घकालिनरूपमा समाधान खोजिने बताए । लगातार क्षति बढ्दै गए नेपालमात्र नभइ भारतमा पनि असर पर्ने भएकाले त्यसबारे भारतलाई जानकारी गराइसकेको उनको भनाइ छ । सांसद यादवले दीर्घकालिन समस्या समाधान गर्न सकिए हजारौं हेक्टर जमिन उकास हुने र आर्थिक क्षेत्रमा सहयोग पुग्ने बताए । 

यसवर्षको कटान सिरहातर्फ छोडेर धनुषातर्फ आएकाले आतकालिन काम भइरहेको जानकारी दिँदै विभागका महानिर्देशक राजभण्डारीले तीन किलोमिटर पक्का तटबन्ध बनाउनुपर्ने आवश्यक देखिएको बताए । मन्त्रीको निर्देशनअनुसार दीर्घकालिन गुरुयोजना बनाएर अगाडि बढ्ने र तत्कालका लागि कटान रोक्न आवश्यक साधनस्रोत उपलब्ध गराउने बताए ।  

कमला नदीको प्रकृति अस्थिर भएकाले पनि समस्या हुँदै आएको छ । यद्यपी आयोजना प्रमुख भट्टराईका अनुसार गत आर्थिक वर्षमा कमला नदी नियन्त्रणका लागि गरिएका गतिविधिबाट सिन्धुली, धनुषा र सिरहाका एक लाख १५ हजार जनता लाभान्वित भएका छन् । सत्ताइस हजार ९५ हेक्टर जग्गा उकास भएको छ । 
 


Author

थप समाचार
x