ऊर्जा

ऊर्जा मन्त्रीहरुले सहायक कम्पनी पनि नछाड्ने भए

तनहुँ हाइड्रोको एमडी हटाउने खेल

इकागज |
साउन १७, २०७८ आइतबार १४:१९ बजे

फाइल फोटो

काठमाडौं : नेपाल सरकारको पूर्ण लगानी रहेको तनहुँ हाइड्रोपावर कम्पनीको प्रवन्‍ध निर्देशक (एमडी) प्रदीप थिकेलाई हटाउने विद्युत् प्राधिकरण व्यवस्थापनको योजना तत्काललाई टरेको छ ।

प्राधिकरणको हिजो शनिबार बसेको बैठकमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले थिकेलाई हटाई उनको ठाउँमा साञ्जेनबाट राजीनामा दिई प्राधिकरणको इन्जिनियरिङमा आएका किरणकुमार श्रेष्ठलाई लैजाने प्रस्ताव लगेका थिए ।


प्राधिकरण स्रोतका अनुसार विद्यमान नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम ४३ (९) विरुद्ध हुने भएकाले हिजोको बैठकले निर्णय गर्न सकेन । अब उक्त विनियमावली नै संशोधन गरेर भए पनि श्रेष्ठलाई तनहुँ हाइड्रो लैजाने योजना रहको स्रोतले बतायो । 

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको प्रमुख तथा प्राधिकरणको पनि लगानी रहेको सान्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट राजनीनामा दिएर श्रेष्ठ गत जेठ ७ गते प्राधिकरण फर्किका थिए । 

उक्त विनियमावली ४३(९) ‘सहायक कम्पनीबाट फिर्ता भएका कर्मचारीले प्राधिकरणका अन्य कार्यालयमा कम्तीमा २ वर्ष सेवा गरेपछि मात्र निजलाई सोही कम्पनी वा अन्य कम्पनीमा काजमा खटाउन सकिने छ’, भन्ने उल्लेख छ । यही प्रावधानविपरीत हुने भएकाले हिजोको सञ्चालक समितिले निर्णय गर्न नसकेको हो ।

श्रेष्ठ रसुवामा निर्माणाधीन सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) जलविद्युत आयोजनालाई अलपत्र पारेर राजनीनामा दिई प्राधिकरण फर्किका थिए । 

श्रेष्ठले अघिल्ला ऊर्जा मन्त्रीहरु टोपबहादुर रायमाझी र शरत्सिंह भण्डारीमार्फत तनहुँ हाइड्रो आउन चाहेका हुन् । यी दुवै ऊर्जा मन्त्री आफू पदमै रहेका बेला कार्यकारी निर्देशकलाई दबाब दिएका थिए ।  

तनहुँको जलविद्युत आयोजनाको नदी फर्काउने, १४० मि. अग्लो बाँधलगायतका पहिलो प्याकेजका संरचना हेडवक्र्स निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.) लि.नेपाल जे.भीसँग ९ चैत २०७७ मा  ठेक्का सम्झौता भएको थियो । 

कोभिड–१९को दोस्रो लहरको फैलावट र यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण ठेकेदारले आयोजनास्थलमा परिचालित भई निर्माण सुरु गर्न सकेको छैन । सम्झौता कार्यान्वयमा आएको ५७ महिनाभित्र निर्माण सम्पन्न गर्नु पर्ने छ । 

ठेक्का सम्झौता भएता पनि कोभिड–१९का कारण कार्यान्वयनमा नआएको यस्तो जटिल र संवेदनशील अवस्थामा प्राधिकरण व्यवस्थापनले हस्तक्षेप गर्न लागेको हो । 
तनहुँले कोभिड–१९को अवस्थामा पनि विद्युतगृह, सुरुङलगायत दोस्रो प्याकेजका संरचनाहरुको निर्माणलाई निरन्तरता दिइरहेको छ । अहिले विद्युत गृह खन्ने कार्य भइरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ ।  

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्ने यो आयोजनाको जडित क्षमता १४० मेगावाटको छ र यो अर्ध जलाशय प्रकृतिको आयोजना हो । 


 


Author

थप समाचार
x