विद्युत् प्राधिकरणको नाफा ६९.९४ प्रतिशत घट्यो
काठमाडौं - देशको सबैभन्दा ठूलो सार्वजनिक संस्थान नेपाल विद्युत् प्राधिकरणको गत वर्षको खुद मुनाफा ६९.९४ प्रतिशतले घटेको छ । प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा उसको खुद मुनाफा ३ अर्ब ५१ करोड रुपैयाँ भएको छ । जबकि अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस्तो खुद मुनाफा ११ अर्ब ६८ करोड रुपैयाँ थियो । यो रकम करपछिको हो ।
गत वर्ष प्राधिकरणले ७१ अर्ब २८ करोड रुपैयाँको बिजुली बिक्री गरेको थियो । अघिल्लो वर्ष विद्युत् विक्रीबापत प्राधिकरणले ७६ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो रकम अघिल्लो वर्षको तुलनामा ६.५९ प्रतिशतले कमी हो । प्राधिकरणको सञ्चालन खर्चमा भएको वृद्धि, भारतबाट अत्यधिक विद्युत् आयात, विद्युत् चुहावटमा बढोत्तरी, सरकारले कोभिड १९ का नाममा विभिन्न वर्ग र क्षेत्रलाई दिएको छूट तथा सहुलियत लगायतका कारण नाफा घट्न गएको हो ।
गत वर्ष प्राधिकरणको सञ्चालन खर्च १०.९६ प्रतिशतले बढ्न गएको तथ्यांकले देखाएको छ । आ.व. २०७६/७७ मा सञ्चालन खर्च ६१ अर्ब ८७ करोड रहेकोमा गत वर्ष ६८ अर्ब ४५ करोड रुपैयाँ थियो । यसपालि ऊर्जा मन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क र धेरै बिजुली खपत गराउनेलाई कम शुल्क लिने घोषणा गरिसकेकी छिन् । उनको घोषणा कार्यान्वयन भएमा प्राधिकरणलाई थप डेढ अर्ब रुपैयाँ नोक्सान पर्ने देखिन्छ ।
प्राधिकरणले आफ्नो कूल आम्दानीको ५८.८३ प्रतिशत विद्युत् खरिदमा खर्च गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष विद्युत् खरिदमा १०.०५ प्रतिशतले खर्च बढ्न गएको छ । यो खर्च भारतबाट धेरै बिजुली आयात गर्नुपर्नाको कारण हो । प्राधिकरणले विद्युत् खरिद बापत गत वर्ष २०७७/७८ मा ४१ अर्ब ४६ करोड रुपैयाँ खर्च गर्याे । अघिल्लो वर्षभन्दा यस्तो खर्च १८.०५ प्रतिशत बढी हो । निजी क्षेत्रका आयोजनालाई भुक्तानी गर्नुपर्दा यो रकम वृद्धि भएको हो ।
गत वर्ष प्राधिकरणले सबै गरी ८० अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानीमा कूल सञ्चालन खर्च ६८ अर्ब ६४ करोड रुपैयाँ कटाउँदा सञ्चालन मुनाफा ११ अर्ब ७१ करोड रुपैयाँ हुन आयो । अघिल्लो आवमा यस्तो सञ्चालन मुनाफा मात्रै २३ अर्ब ७४ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा ५०.६७ प्रतिशत कम हो ।
गत वर्ष प्राधिकरणले भारतबाट २ अर्ब ८२ करोड युनिट बिजुली आयात गरेको थियो । यो परिमाण अघिल्लो वर्षको तुलनामा ६३.४५ प्रतिशतले बढी हो । गत वर्षको हिउँदयाममा खोलामा अत्यधिक पानी सुक्न गई स्वदेशको उत्पादन अत्यन्त न्यून भएको थियो भने तराई क्षेत्रमा विद्युत् माग अकाशिएको थियो । माग धान्न आयात बढेको हो ।
त्यसैगरी प्राधिकरणले गत वर्ष निजी क्षेत्रबाट तीन अर्ब २४ करोड युनिट बिजुली किनेको थियो । गत वर्ष निजी क्षेत्रका करिब सय मेगावाट बिजुली थपिंदा उनीहरुको बिजुली खरिद युनिट परिमाण पनि ८.३६ प्रतिशतले वृद्धि हुन पुग्यो । गत वर्ष प्राधिकरणको आफ्नै जलविद्युत् गृहबाट भने २ अर्ब ८१ करोड युनिट बिजुली उत्पादन भएको थियो । अघिल्लो वर्ष भने तीन अर्ब २ करोड युनिट उत्पादन थियो ।
प्राधिकरणले निजी क्षेत्र, भारत र आफ्नै गरी गत वर्ष उसको प्रणालीमा उपलब्ध विद्युत् ८ अर्ब ८७ करोड युनिट थियो । यो अघिल्लो वर्षको भन्दा १४.६८ प्रतिशत बढी हो । प्राधिकरण प्रणाली उपलब्ध कूल ऊर्जामध्ये उसको आफ्नै ३१.६६, निजी क्षेत्रको ३१.८३ र भारतबाट आयातीतको अंश ३६.५१ प्रतिशत छ ।
गत वर्ष प्राधिकरणले ७ अर्ब ३१ करोड ९० लाख युनिट बिजुली बिक्री ग¥यो । यो परिमाण अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । विद्युत् चुहावट गत वर्ष १.९१ प्रतिशतले वृद्धि हुन पुगी कूल प्रणालीमा १७.१८ प्रतिशत कायम हुन पुग्यो । अघिल्लो वर्ष कूल विद्युत् चुहावट जम्मा १५.२७ प्रतिशत थियो । प्रणालीमा उपलब्ध कूल विद्युत्मध्ये १.९१ प्रतिशत चुहावट हुँदा झन्डै १७ करोड युनिट बिजुली नाश हुन पुग्यो । यसबाट प्राधिकरणले औसत विद्युत् विक्री दर प्रतियुनिट १० रुपैयाँ मान्ने हो भने एक अर्ब ७० करोड रुपैयाँले नाफा घट्न पुग्यो ।
तथ्यांक अनुसार गत वर्ष (असार मसान्त) सम्म आइपुग्दा प्राधिकरणको कूल ग्राहक संख्या ५० लाख ८० हजार पुगेको छ । यसमा सामुदायिक संस्थाका ५ लाख ५० हजारसमेत समावेश छ । प्राधिकरणका अनुसार अहिलेसम्म देशको ९० प्रतिशत देशावासीको घरमा ग्रीडको बत्ती पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया