ऊर्जा

सामलिङ्ग पावर कम्पनीको स्थगित आईपीओ पुनः खुल्ला

इकागज |
भदौ १७, २०७८ बिहीबार १७:४८ बजे

काठमाडौं : सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा निर्माण सम्पन्न माइबेनी जलविद्युत आयोजनाको निष्काशन तथा बिक्रीका लागि स्थगित गरिएको साधारण शेयर (आईपीओ) भोलिदेखि खुला हुने भएको छ ।

प्रभावित क्षेत्रका वासिन्दाप्रति लक्षित उल्लेखित विवरणको आईपीओ गत साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने योजना थियो । इलाममा सम्भावित  कोरोना संक्रमण रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले गत साउन १८ देखि गत मंगलबार (भदौ १५) सम्म जारी गरेको आदेशले निष्काशन तथा बिक्री कार्य स्थगित भएको थियो ।


प्रशासनले गत मंगलबार जारी गरेको आदेश अनुसार इलाम जिल्लाका स्थानीय स्तरका बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउने भएपछि आइपीओ खुला भएको कम्पनीले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

एक सय अङ्कित दरका पाँच लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित क्षेत्र इलामभरिका वासिन्दाका लागि ६० प्रतिशत अर्थात तीन लाख र आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिकाका  वडा नं ४ र ५ का लागि ४० प्रतिशत  अर्थात दुई लाख कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ ।
 


Author

थप समाचार
x