ऊर्जा

माइबेनीको व्यापारिक उत्पादन शुरु

आईपीओमा ३.६३ गुणा बढी आवेदन

इकागज |
असोज ८, २०७८ शुक्रबार ११:४७ बजे

माइबेनी आयोजनाकाे हेडवर्क्स (मुहान) । तस्विर साैजन्य : रचना भट्ट/ऊर्जा डेभलपर्स

काठमाडौं : ऊर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ पावर कम्पनीद्वारा इलाममा निर्माण सम्पन्‍न माइबेनी जलविद्युत आयोजना (९.५१  मेगावाट) ले व्यापारिक उत्पादन शुरु गरेको छ ।
माइबेनीले विद्युत खरीद बिक्री सम्झौता (पीपीए) अनुसार बमोजिम व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मितिभन्दा दुई महिना अगावै व्यापारिक उत्पादन आरम्भ गरेको हो ।
नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिको रोहवरमा विभिन्‍न चरणको परीक्षणका कार्यहरु सम्पन्‍न भई  १५ दिनको परीक्षण उत्पादनसमेत सफलतापूर्वक पूरा गरेको कम्पनीले जनाएको छ । माइबेनीले वार्षिक ५३.२८ गिगावाट घण्टा (५ करोड ३२ लाख ८० हजार युनिट) विद्युतीय ऊर्जा राष्ट्रिय प्रणालीमा थप योगदान गर्ने भएको छ ।
यसैगरी आयोजनाले प्रभावित क्षेत्रका वासिन्दाका लागि गत भदौ १८ गतेदेखि असोज १ सम्म आवेदन दिन सकिने गरी निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको पाँच लाख कित्ता आईपीओमा लक्ष्यभन्दा ३. ६३ गुणा बढी आवेदन परेको कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ ।
त्यस्तै, आयोजनाको कुल १२ लाख ३० हजार कित्ता साधारण शेयर (आईपीओ) मध्ये थप ७ लाख तीस हजार कित्ता शेयरसमेत खुल्ला गर्ने योजना रहेकोमा कर्मचारीका लागि १४ हजार ६ सय, सामूहिक लगानी कोष (म्यूचल फण्ड) का लागि ३६ हजार ५ सय र सर्वसाधारणका लागि ६ लाख ७८ हजार ९ सय कित्ता शेयर प्रभावित क्षेत्रमा वासिन्दाका लागि छुट्याइएको छ । आईपीओको बाँडफाँड कार्य सम्पन्न गरेपछि निष्काशन तथा बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । 
 



Author

थप समाचार
x