ऊर्जा

भारतमा एक युनिट बिजुलीको मूल्‍य २८ रुपैयाँ

इकागज |
असोज ३१, २०७८ आइतबार १५:२ बजे

सांकेतिक फोटो

काठमाडौं - कोइला आपूर्तिमा अवरोध उत्पन्न भएर ऊर्जा संकटको सामना गरेको भारतमा त्यहाँका केही प्रसारण कम्पनीहरुले एक युनिट बिजुलीको भारु. १६ देखि १८ सम्म (२५ रुपैयाँ ६० पैसादेखि २८ रुपैयाँ ८० पैसा) मा बिक्री गर्दै आएका छन् । जबकि भारतमा बिजुलीको सामान्य भाउ भारु. ४ देखि ६ सम्म छ । 

भारतीय अखबार दि इकोनोमिक टाइम्सका अनुसार यसरी उच्च मूल्यमा बिजुली बिक्री गर्ने  प्रसारण कम्पनीहरुमा हिन्दुस्तान पावर लिमिटेड, अदानी पावर स्टेज–२ र टिस्टा स्टेज–३ छन् । यी कम्पनीहरुले कोइला आयात गरी बिजुली उत्पादन गरेका हुन् ।


यतिखेर भारतमा दैनिक ६० देखि ८० हजार टन कोइँला अभाव छ । विश्व बजारमा कोइलाको भाउ ४० प्रतिशतले वृद्धि भएपछि भारतले आयातित कोइलाबाट बिजुली उत्पादन गर्न नसकिने बरु स्वदेशमै उत्पादन बढाउने नीति लिंदै आएको छ । बढ्दो कोइला संकटका कारण भारतमा ऊर्जा संकट देखिने भने भारतीय अखबारहरुले उल्लेख गर्दै आएका छन् ।

भारतमा कूल उत्पादित बिजुलीमध्ये ७० प्रतिशत कोइलाबाट उत्पादन हुँदै आएको छ । भारतमा रहेका कूल १३५ वटा कोइलामा आधारित विद्युत् गृहमध्ये १०८ वटाको कोइला मौज्दात घट्दै गइरहेको छ । तीमध्ये पनि २८ वटा विद्युत् गृहसँग केवल एक दिनका लागि मात्र मौज्दात रहेको सार्वजनिक भएको थियो । 

भारतको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारले बिजुलीमा कालोबजारी गर्नेमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको समाचार टाइम्स अफ इण्डियाले शनिबार प्रकाशित गरेको थियो । 

विदेशबाट कोइला आयात गरेर बिजुली उत्पादन गर्दै आएका टाटा पवार, एअदानी पावर, इस्सार इनर्जीसँग भएका बैठकमा विद्युत् सचिव आलोकले बयान जारी गरेका थिए । उनले विद्युत् खरिद सम्झौता (पीपीए) बमोजिम उत्पादक तथा प्रसारक कम्पनीहरुले विद्युत् आपूर्ति नगरे नियामक निकायको जानकारीमा ल्याई तत्काल कारबाही गरिने चेतावनी दिएका थिए । 

विश्वकै चौथो स्थान कोइलाको भण्डार भारतमै भए पनि चीनपछि कोइला आयातमा भारत दोस्रो ठूलो देश हो । यही अक्टोवर महिनादेखि भारतलाई कोइला आपूर्ति गर्दै आएको इण्डोनेसियाले कोइलाको मूल्यमा एकैपटक प्रतिटन ७५.३२ अमेरिकी डलरले भाउ वृद्धि गरिदियो । गत अप्रिलमा प्रतिटन कोइलाको मूल्य ८६.६८ अमेरिकी डलर थियो । 

चीनबाट कोइलाको ठूलो माग भएपछि अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ बढेको हो । कोइला अभावमा चीनमा बिजुली उत्पादनमा कमी आई कयौं उद्योगहरु बन्द गरिएका छन् भने कतिपय घरमा लोडसेडिङ गरिएको छ । भारतले आयातित कोइलाबाट बिजुली उत्पादन गर्दा यसको लागत घरेलु कोइलाको भन्दा तीन गुणासम्म पर्ने भएकाले आयात गर्न सकिरहेको छैन । 

कोभिड–१९ को दोस्रो लहरपछि भारतको आर्थिक गतिविधि ह्वात्तै बढ्दा विद्युत् माग पनि बढ्न पुगेको थियो । सन् २०१९ को तुलनमा भारतमा १७ प्रतिशतले विद्युत् माग वृद्धि भएको त्यहाँको विद्युत् मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

आयातमा निर्भर रहेका कोइला प्लान्टजन्य विद्युत्गृहहरु कोइला नपाएर भारतमै उत्खनन् हुने कोइलामा निर्भर छन् । तर भारतले आन्तरिक रुपमा कोइला उत्पादन गरी स्थिति सामान्य तुल्याउन अझै पाँच, छ महिना लाग्ने त्यहाँको ऊर्जा मन्त्री आरके सिंहले एक अखबारले हालै दिएको अन्तर्वार्तामा उल्लेख गरेका छन् । 
 


Author

थप समाचार
x