ऊर्जा

‘जनताको जलविद्युतमा अरुण-४’

सबै नेपालीले शेयर हाल्न पाउने

इकागज |
कात्तिक ८, २०७८ सोमबार १६:१३ बजे

आयाेजना संरचना क्षेत्र । तस्वीर साैजन्य : विद्युत प्राधिकरण

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले अरुण-४ जलविद्युत् आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत अघि बढाउने भएको छ ।

ऊर्जा मन्त्रालयले आज सोमबार संखुवासभाको भोटखोला र मकालु गाउँपालकामा पर्ने ४९०.२ मेगावाटको सर्वेक्षणा अनुमति पत्र (लाइसेन्स) दिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इकागजसँग भने, ‘नेपालभरका नेपालीहरुको लगानीमा सकेसम्म नेपाली वित्तीय संस्थाको पैसाबाट अरुण ४ बनाउनेछौं ।’


प्राधिकरणले माथिल्लो अरुण (१०६१ मेगावाट) र यो अरुण–४ एउटै प्याकेजमा सँगसँगै निर्माण गर्ने पनि घिसिङले बताए । नेपाली नागरिकले सार्वजनिक रुपमा साना आयोजनामा मात्र शेयर पाउँदै आएकोमा अब यसखाले ठूला आयोजनामा पनि लगानी गर्न पाउने घिसिङको भनाइ छ । 

‘नेपालको पानी जनताको लगानी अन्तर्गत बनाउनेछौं, त्यही मोडलमा अप्पर अरुण पनि बन्छ, अब सँगसँगै जान्छ,’ घिसिङको भनाइ छ, ‘सारा नेपाली जनता र विदेशमा रहेका दाजुभाइको समेत लगानीमा सकेसम्म स्वदेशी वित्तीय संस्थाको रकम परिचालन गर्ने र नपुग मात्र विदेशी ऋण खोज्ने योजना छ ।’

‘आयोजनाबाट प्राप्त हुने लाभ आम नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि सेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिने छ,’ उनको भनाइ थियो । 

यो आयोजना प्राधिकरणले पाउनुमा ऊर्जा मन्त्री पम्फा भुसालको ठूलो योगदान रहेको पनि घिसिङले उल्लेख गरे । ‘उहाँ (मन्त्री) कै प्रयासले प्राधिकरणले पाउन सफल भयो,’ उनले भने । 

प्राधिकरणले यी आयोजनाका लगानी मोडालिटी एक/डेढ वर्षभित्रमा टुङ्ग्याउने भएको छ । आयाेजनाकाे विस्तृत डिजाइन तथा अध्ययन गरिसकेकाे विद्युत् विकास विभागले अरुण–४ लाई नदीको वहावमा आधारित आयोजनाको रुपको रुपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले अरुण–४ लाई पनि अर्धजलाशययुक्त (पीआरओआर) बनाउन लागिएको हो । 

अरुण–४ को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) मा लगिने छ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका-३ स्थित सजुवाबेसीमा भूमिगत विद्युतगृहमार्फत विद्युत उत्पादन गरिनेछ । 

विद्युतगृहबाट विद्युत उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमा खसालिने छ । आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । 

संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युतगृह र बाँध क्षेत्र क्रमश ः करिब ६२ र ७७ किलोमिटर टाढा छन् । कोसी राजमार्गअन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युतगृह क्षेत्र पुग्ने करिब २ किलोमटर ग्रामिण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ । 

विभागले गरेको अध्ययनअनुसार, आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब ६५ अर्ब रुपैयाँ)  छ । आयोजनाबाट वार्षिक २ अर्ब ९ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।  

प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत विभागमा गत २९ भदौमा आवेदन दिएको थियो ।


Author

थप समाचार
x