ऊर्जा

देशभर कतै पनि विद्युत् आपूर्ति अवरुद्ध भएन: प्राधिकरण

दिपावलीमा विद्युत् 'पिक लोड' १२७० मेगावाट कायम

इकागज |
कात्तिक १८, २०७८ बिहीबार २१:२२ बजे

काठमाडौँ - दिपावलीको दिन विद्युत्‌को 'पिक लोड' १२७० मेगावाट कायम भएको छ । विद्युत प्राधिकरणको प्रणाली सन्चालन विभागका निर्देशक सुरेस भट्टराईकाअनुसार दिपावलीको दिन पिक लोड १२७० मेगावाट कायम भएको हो ।

दिपावलीमा देशभर कतै पनि विद्युत् आपूर्ति अवरुद्ध नभएको उनले बताए । सबै प्रकारका जलासय र अर्धजलाययुक्त आयोजना विद्युत्‌गृहहरूलाई तयारी अवस्थामा राखिए पनि तिनलाई चलाउनुपर्ने अवस्था नआएको उनले जानकारी दिए ।


‘आज दिपावलीमा विद्युत्‌को पिक लोड १२७० मेगावाट कायम रह्यो । देशभर कतै पनि विद्युत् आपूर्ति अवरुद्ध भएन,’ पिक लोड सकिएपछि भट्टराईले इकागजसँग भने, ‘भारतबाट पनि विजुली आयात गर्नु परेन । दिपावलीको दिन सबै प्रकारका जलासय र अर्धजलाययुक्त आयोजना विद्युत्‌गृहहरूलाई तयारी अवस्थामा राखिएको थियो । तर, तिनलाई सञ्‍चालनमा ल्याउनुपर्ने अवस्था आएन ।'

यसअघि प्राधिकरणले दीपावलीभरि झिलीमिली बत्ती बाल्न आग्रह गर्दै विद्युत् आपूर्ति अवरुद्ध नहुनेमा आश्वस्त पारेको थियो । प्राधिकरणले तिहारमा उच्चतम माग १५ सय मेगावाट हुने अनुमान गरेको थियो ।

गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शुन्यमा झरेको छ ।

यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।

चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो ।

सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य,कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले  स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।  

यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ति बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।


Author

थप समाचार
x