ऊर्जा

छिमेकी देशहरूलाई सकेसम्म धेरै विद्युत बिक्री गरेर व्यापार घाटा घटाउँछौंः मन्त्री भुसाल

इकागज |
कात्तिक २१, २०७८ आइतबार ११:४९ बजे

काठमाडौँ - उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् । आज (आइतबार) सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको बताएकी हुन् । उनले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् । 

मन्त्री भुसालले भनिन्, ‘उर्जा व्यापार पहिलेदेखि नै शुरु भएको हो, तर हामीले बढी हुँदा पनि सप्लाइ गर्न सकेका थिएनौँ, अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत खरिद गर्ने सहमति गरेर सप्लाइ शुरु भइसकेको छ, त्यसैले विद्युत व्यापारको शुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ,यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो हो, हामीकहाँ क्रमशः जलविद्युत उत्पादन हुँदै गइरहेको छ, आन्तरिक खपत पनि बढाउने आवश्यक्ता छ,त्यसको पनि अध्ययन र तयारीमा छौँ, तर हामीसँग बढी नै इनर्जी हुने कुराको निर्यात गर्न सक्ने, पाउने नयाँ स्थितीमा पुगेका छौँ, यसले विद्युतको व्यापार मात्रै हुन्न, हाम्रो व्यापारको असन्तुलन छ, व्यापार घाटा बढी छ, त्यसलाई क्रमशः न्यूनिकरण गर्ने भुमिका खेल्छ, भर्खर हामीले भारतमा विद्युत व्यापार शुरु गरेका छौँ, बंगलादेश भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षिय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’


मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्याँस लगायतका उर्जाहरुलाई विद्युतले बिस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले नेपाल कृषिप्रधान देश भएकोले सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याउने बताइन् । मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत दिनसक्ने बताउँदै उर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन् । उनले आन्तरिक खपतको लागि विद्युत महशुल घटाएको बताइन् । 

मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्याँसलाई बिस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताइन् ।  


Author

थप समाचार
x