ऊर्जा

विद्युत खपत

बिजुली उत्पादन घट्दो, माग बढ्दो

आयात गर्नुपर्ने अवस्था

इकागज |
मंसिर ८, २०७८ बुधबार १५:१३ बजे

फाइल फोटो

काठमाडौं - दशैं, तिहार, छठजस्ता राष्ट्रिय स्तरका पर्व सकिए । कोभिड १९ को संक्रमणदर पनि घट्न थाल्यो । उद्योगधन्दा, कलकारखाना पूर्ण क्षमतामा सञ्चालनमा आउन थाले । आर्थिक गतिविधि पनि बढ्न थाल्यो । बिजुली खपत गराउने यी गतिविधि चालू रहँदा मुख्य माग बढाउने जाडो पनि बढ्दै जान थाल्यो ।

यता बिजुली मागको बढ्ने तर उत्पादन भने घटने स्थिति रह्यो । विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागका निर्देशक सुरेश भट्टराईका अनुसार उच्चतम खपत (पिक) १५ सय मेगावाटको हाराहारीमा पुगेको छ । उत्पादन भने १५ सय ६० देखि १६ सय मेगावाटको हाराहारीमा छ । 


आर्थिक गतिविधि बढेको दिउँसो खपत हुने बिजुलीको परिमाणले देखाएको छ । भट्टराईका अनुसार दिउँसोको खपत करिब १२ सय मेगावाट छ । ‘उद्योगधन्दा पूर्ण क्षमतामा चलेका छन्, आर्थिक गतिविधि पनि बढ्दो छ,’ भट्टराईले बुधबार इकागजसँग भने, ‘यसले बिजुली खपत पनि बढाएको छ ।’

रातिको समयमा ८० देखि सय मेगावाटसम्म बिजुली जगेडा रहेको भट्टराईले जानकारी दिए । यो जगेडा रहने क्रम पनि घट्दो छ । मुश्किलले मंसिर महिनासम्म वा यो महिनाको तेस्रो सातासम्म स्वदेशी उत्पादनले माग धान्ने उनको भनाइ छ । 

यसपालि माथिल्लो तामाकोसी (४५६ मेगावाट) लगायतका आयोजना पूरा भएको र असोज मसान्तसम्म पानी परेकाले खोलामा जलस्तर घटेको छैन । यसले गर्दा निजी क्षेत्रले हाल ६५० मेगावाटदेखि ७ सय मेगावाटसम्म उत्पादन गरिरहेको छ । बाँकी प्राधिकरणको उत्पादन छ । चिलिमे र माथिल्लो तामाकोसीलाई निजी क्षेत्रको नमान्ने हो भने बाँकी सबै नदी प्रवाही प्रकृतिका भएकाले छन् ।

आगामी पुसदेखि भने जगेडा बिजुली रित्तिने मात्र नभई लोडसेडिङ हुन नदिन आयात नै गर्नुपर्ने अवस्था रहेको पनि भट्टराईले उल्लेख गरे । एकमात्र जलाशययुक्त विद्युत गृह कुलेखानी (१०४ मेगावाट) सञ्चालन गरेर आयात प्रतिस्थापन गर्न सकिए पनि प्रणाली बलियो राख्न कुलेखानीको पानी सञ्चय गर्नुपर्ने बाध्यता छ ।
 
जगेडा बिजुली नरित्तिएकाले प्राधिकरणले भारतलाई ३९ मेगावाट निर्यात भने जारी राखेको छ । अबका केही दिनमा निर्यात पनि बन्द भई आयात हुने अवस्था छ ।  गत वर्ष यतिखेर माग धान्न भारतबाट बिजुली आयात भइसकेको थियो ।
 


Author

थप समाचार
x