ऊर्जा

तनहुँ जलविद्युत् आयोजनामा बाधा नभए २०८३ सालमा सक्ने लक्ष्य

ऊर्जामन्त्रीको निर्देशन- तोकिएकै अवधिमा सक्नूस्

इकागज |
मंसिर १३, २०७८ १३:२७ बजे

तनहुँ- ऊर्जामन्त्री पम्फा भुसालले निर्माणाधीन तनहुँ जलविद्युत् (१४० मेगावाट) आयोजना तोकिएकै समयमा सम्पन्‍न गर्न निर्देशन दिएकी छिन् । मन्त्री भुसालले सोमबार आयोजनाको स्थगलत निरीक्षण गर्दै विलम्ब नगरी तोकिएकै लक्ष्यमा पूरा गर्न निर्देशन दिएकी हुन् । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । 

‘कुलेखानी बाहेक सञ्चालमा रहेका सबै आयोजनाहरु नदीको बहावमा आधारित भएकोले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्‍न अझै पनि विद्युत आयात गर्नु पर्ने र वर्खामा खपत गर्न नसकी खेर फाल्नु पर्ने अवस्था छ’ भुसालले निर्देशन दिँदै भनिन्, ‘यस्तो अवस्थाको अन्त्यका लागि रणनीतिक महत्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायतका कारणले ढिलाइ हुनु हुँदैन, तोकिएकै समय र लागतका सम्पन्‍न गर्नुपर्छ ।’ 


निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्दै उनले निर्माणमा आइपर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र त्यसबाटे स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने पनि बताइन् । आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध-सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, व्यहोरिएको समस्यालगायतका विषयमा जानकारी गराएका थिए ।

आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन (प्रा.) लि. नेपाल जे. भीसँगकोे ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको छ । सोङ्ग दा-कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ । 

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ्ग, मुख्य पुहँच सुरुङ निर्माण सम्पन्‍न गरी भूमिगत विद्युत गृह खनिरहेको छ । सर्जट्यांकतर्फको पहुँच सुरुङ्ग निर्माण सम्पन्‍न गरेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ३० वटा टावरको जग हाल्ने कार्य सम्पन्‍न भई  आठवटा टावर ठडाइएको छ ।  
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 


 



Author

थप समाचार