ऊर्जा

गण्डक विद्युत्‌गृहले पुस २ देखि विजुली उत्पादन गर्ने

इकागज |
मंसिर २३, २०७८ बिहीबार १७:२३ बजे

काठमाडौं- झन्डै डेढ महिनादेखि बन्द रहेको गण्डक (१५ मेगावाट) विद्युत् गृह आगामी पुस २ गतेदेखि सञ्चालनमा आउने भएको छ । भारतको बिहार सरकारको जलस्रोत विभागले आगामी डिसेम्बर १७ गतेदेखि नहर सञ्चालन जानकारी दिएकाले विद्युत् उत्पादन पुनः सुरु हुने भएको गण्डक जलविद्युत् केन्द्रका प्रमुख सुनिलकुमार चतुर्वेदीले बताए । 

भारतले हरेक वर्षको मंसिर र वैशाख महिनामा नहर मर्मत गर्ने नाममा पश्चिम गण्डक नहरमा पानी सञ्चालन गर्दैन । भारतको उत्तर प्रदेशमा सिंचाइका लागि लगिएको उक्त नहर नेपाली भूमिमा बनेको छ । गण्डक ब्यारेजदेखि १८ किलोमिटर तलतिर सुरजपुरास्थित गण्डक विद्युत् गृह छ ।


चतुर्वेदीका अनुसार भारतले सुख्खायाममा सिंचाइका लागि करिब ८ हजार क्यूसेक पानी नहरबाट लैजाने जनाउन दिएको छ । ‘यस हिसाबले दुईदेखि सात मेगावाटसम्म बिजुली उत्पादन हुन्छ,’ उनले भने, ‘नहरमा पानी सञ्चालन भएपछि दुईवटा युनिट चल्छ ।’

यसको जडित क्षमता १५ मेगावाट भए पनि पर्याप्त पानी अभावमा आधाजति मात्र उत्पादन हुने गर्छ । विगत चार, पाँच वर्षदेखि अर्काे युनिट बिग्रेकाले त्यसलाई आफ्नो प्रयासमा मर्मत गरिरहेको जानकारी दिंदै चतुर्वेदीले आगामी पुस २ गते त्यसको परीक्षण गरिने पनि बताए । जडित क्षमता (१५ मेगावाट) मा बिजुली उत्पादन हुन करिब १६ हजार क्यूसेक पानी चाहिने उनी बताउँछन् ।

हिउँदयाम सुरु भएदेखि नेपालको विद्युत् उत्पादनमा पनि कमी आई भारतबाट आयात गरिएको छ । हिउँदे खेतीका लागि भारतले गण्डक नहरबाट पानी लैजाने भएकाले गण्डकबाट सात मेगावाट बिजुली उत्पादन हुनु पनि आफैमा सकारात्मक कुरा हो ।

यो विद्युत् गृह भारतले सन् १९७९ मा बनाएको हो । नेपाली भूभागमा ब्यारेज र नहर बनाए बापत भारतले यो विद्युत्गृह बनाएर सन् १९८१ को अगष्ट ३१ मा हस्तान्तरण गरेको हो । त्यतिबेलाको मूल्यअनुसार यसको लागत १७ करोड रुपैयाँ परेको थियो ।

भारतले पूर्वी गण्डक र पश्चिम गण्डक गरी गण्डक ब्यारेजबाट दुईतर्फ पानी लगेको छ । कुनै अवधि नतोकिएको र गण्डकको पानी नेपालले अन्यत्र प्रयोग गर्न नपाउने गरी भएको यसको सन्धि सन् १९५९ गरिएको थियो । पछि सन् १९६४ मा संशोधन गरिएको थियो । भारतसित भएका असमान जलस्रोतसम्बन्धी सन्धिमध्ये गण्डक प्रमुख हो । 

विद्युत् प्राधिकरणका अनुसार गण्डक विद्युत् गृहले हालसम्म १० अर्ब ३५ करोड युनिट बिजुली उत्पादन गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा गण्डकबाट एक करोड २१ लाख युनिट बिजुली उत्पादन भएको थियो । 

यसबाट उत्पादित बिजुली १८ किलोमिटर पर बर्दघाटमा १३२ केभीको सिंगल सर्किटमा लगेर जोडिएको छ । भारतमा बिजुली निर्यात गर्नुपरेका बेला २० किलोमिटर १३२ केभीको बाल्मिकीनगर (विहार) पु¥याइन्छ । 
 


Author

थप समाचार
x